September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

रुसद्वारा अमेरिकालाई चेतावनी

मस्को, ६ भाद्र (प्रेस टीभी)। संरा अमेरिका र पश्चिमाहरूले सिरियाविरुद्ध चाल्ने एकपक्षीय कदमप्रति रुसले कडा विरोध गर्दै मङ्गलबार चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा जारी द्वन्द्वमा सरकारले विद्रोहीविरुद्ध रासायनिक र जैविक हतियार प्रयोग गरे अमेरिकी प्रत्यक्ष हस्तक्षेपको लागि बाध्य हुने धम्की दिएको भोलिपल्टै रुसको चेतावनी सार्वजनिक भएको हो।
    रुसको धारणा स्पष्ट पार्दै विदेशमन्त्री सर्गेइ लाभ्रोभले भन्नुभयो –सिरियामा बाहिरबाट कुनैखाले हस्तक्षेप हुनुहुँदैन। विदेशी खेलाडीहरूले त्यहाँ गर्नमिल्ने भनेको वार्ताका निम्ति वातावरण सिर्जना गर्नु हो।' विदेशमन्त्री लाभ्रोभले उक्त धारणा मस्कोमा चीनका राज्य काउन्सिलर ताई पिङकोउ र सिरियाली सरकारको प्रतिनिधिमण्डलसितको भेटपछि पत्रकारहरूसित स्पष्ट पार्नुभएको हो।
    लाभ्रोभले रुस र चीन सरकार सिरियाली सङ्कट शान्तिपूर्ण रुपमा समाधान गर्ने अन्तर्राष्ट्रियप्रयासलाई सफलतामा पुर्‍याउन दृढप्रतिज्ञ भएकोमा जोड दिनुभयो।
    'सिरियाली सङ्कटको समाधान संयुक्त राष्ट्र सङ्घको बडापत्रमा उल्लेखित अन्तर्राष्ट्रिय कानुन र  सिद्धान्तका आधारमा हुनुपर्छ, तिनीहरूको उल्लङ्घन हुन दिनुहुँदैन।'रुसी विदेश मन्त्रीले अमेरिकालाई चेतावनी दिंदै भन्नुभयो।
    सिरियाली समस्या शान्तिपूर्ण रुपमा समाधान गर्नुपर्नेमा जोड दिंदै उहाँले चेतावनी दिनुभयो –'सिरियामा सैन्य हस्तक्षेप गर्ने अधिकार संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्लाई बाहेक कसैलाई छैन। अन्य कुनै पनि सैन्य हस्तक्षेपले सिरियाली द्वन्द्व अन्त्य हुनेछैन। संरा अमेरिकाले सिरियामा सैनिक हस्तक्षेप गरेमा सिरियामा जारी द्वन्द्व पुरै मध्यपूर्वमा फैलनेछ।'
    रुस र चीनले तीन महिनाअगाडि सुरक्षा परिषद्मा सिरियाली सरकारमाथि प्रतिबन्ध तथा नाकाबन्दी लगाउने गरी आएको प्रस्तावविरुद्ध भिटो प्रयोग गरेका थिए। ती दुई सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रले सुरक्षा परिषद्मा सिरियाविरुद्धका प्रस्तावहरूमा तीनपटक भिटो प्रयोग गरिसकेका छन्।