|
छालिङमा कालो दिवस मनाइयो
भक्तपुर, भदौ ८। नेपाल क्रान्तिकारी किसान जिल्ला समितिको आयोजनामा राज्यस्तरबाट रचिएको षड्यन्त्र–भक्तपुर काण्डको स्मरणमा छालिङको गुडीमा एक किसान भेला सम्पन्न भयो। कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठले प्रतिगमनकारी सरकार एवं जनविरोधी सरकारले समय सापेक्ष जनताको न्यायोचित आन्दोलन दबाउन अनेकन जालझेल र षड्यन्त्र गर्ने हुनाले त्यस्ता दमन एवं षड्यन्त्रलाई चिर्न पूर्वघटित घटनालाई स्मरण गर्नुपर्ने बताउनुभयो। देशको वर्तमान राजनैतिक अवस्थामा राष्ट्रपति शासनको जरुरी भएको र स्थानीय निर्वाचन अर्थात् जनप्रतिनिधि शासन व्यवस्थाको आवश्यकता अपरिहार्य भएको उहाँले बताउनुभयो। कार्यक्रममा कार्यक्रम सभापति एवं नेक्राकिसङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गोविन्द दुवालले जनता असल राजनैतिक कार्यकर्ता हुनुपर्ने, लोभ–लालच र डर–धम्कीमा झुक्नु नहुने, पार्टी सङ्गठन र कार्यक्रममा निरन्तर लागिपर्नुपर्ने बताउँदै २०४५ सालको राज्यको षड्यन्त्रकारी जालझेलको बारेमा प्रस्ट पार्नुभयो। उक्त कार्यक्रममा छालिङ गाउँका स्थानीय न्हुछेभक्त फोजू र नेपाल क्रान्तिकारी किसान सङ्घ छालिङ गाउँ एकाइ समितिका अध्यक्ष सूर्यबहादुर फोजूले पनि बोल्नुभएको थियो।
|