September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

हेटौंडा अस्पतालमा विशेषज्ञ चिकित्सक अभाव

हेटौडा, १५ भदौ। मकवानपुर जिल्ला हेटौंडा अस्पतालमा दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक अहिले उपलब्ध नहुँदा जिल्लाको दुर्गम क्षेत्रबाट स्वास्थ्योपचार गर्न आएका बिरामीले यहाँ निकै कठिनाइ बेहोर्नुपरेको छ।
    अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टसहित सात चिकित्सकको दरबन्दी रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। जिल्ला अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टबाहेक केही वर्षदेखि ६ जना चिकित्सक रिक्त रहँदैआएको थियो। सो अस्पतालमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एक, बालरोग विशेषज्ञ एक एवम् मेडिकल अधिकृत चार गरी ६ जना चिकित्सकको अहिले अभाव हुनाले बिरामीको उपचारमा कठिनाइ भएको हो।
    जिल्लाका विभिन्न गाविसबाट स्वास्थ्योपचारका लागि अस्पतालमा आएका अधिकांश बिरामी विशेषज्ञ चिकित्सकको सेवाको अभावमा थप स्वास्थ्योपचारका लागि भरतपुर, वीरगन्ज र काठमाडौंतर्फ जान बाध्य भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका परिवार नियोजन अधिकृत डा. गणेश पौडेलले बताउनुभयो। उक्त अस्पतालमा अधिकांश बालबालिका, शिशु, महिलाका विभिन्न रोग, प्रसूति सेवा, पेट, छाती, टाउको दुख्ने बिरामी आउने गरेका छन्।
    अस्पतालमा अहिले सरकारी अनुदानबाट पचास शैय्या तथा हेटौंडा अस्पताल विकास समितिद्वारा स्थापना गरिएको पचास शैय्यासहित जम्मा १ सय शैय्या छन्। समितिद्वारा हाल तीनजना चिकित्सक करारमा राखिएको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो।
    यसैगरी जिल्ला अस्पतालमा अहिले काठमाडौंबाट प्रशिक्षार्थी चिकित्सकका रुपमा पाँचजना  केही महिनायता यहाँ खटिएका छन्। ती चिकित्सक पनि हेटौंडा अस्पतालबाट काजमा अन्य अस्पतालमा खटिने गरेकाले हेटौंडा अस्पतालमा उपचारमा थप जटिलता आएको जिल्ला स्वास्थ्य कार्यालयबाट थाहा भएको छ।
    पूर्वपश्चिम राजमार्ग एवम् त्रिभुवन राजपथमा बढ्दो सवारी चापका कारण दैनिकजसो सडक दुर्घटनामा परी अधिकांश घाइते यात्रु स्वास्थ्योपचारका लागि हेटौंडा अस्पताल आउने गरेका छन्। तत्कालै चिकित्सक पर्याप्त अभावमा अस्पतालमा सामान्य उपचार मात्र गरेर थप स्वास्थ्योपचारका लागि भरतपुर र काठमाडौंतर्फ पठाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख डा. सञ्जीव सिंहले बताउनुभयो।