|
कुखुरामा टक्सिस रोगको महामारी
भक्तपुर, २१ भदौ। यहाँका कुखुरा फर्ममा रोगको महामारी फैलिएपछि कुखुरा मर्न थालेका छन्। कुखुरा सुक्दै जाने र अन्त्यमा 'टक्सिस' नामक रोगले मर्न थालेको कुखुरापालन व्यवसायी सङ्घ भक्तपुरका संस्थापक अध्यक्ष एवम् कुखुरा व्यवसायी लक्ष्मण ग्वाछाले बताउनुभयो। भक्तपुरका अधिकांश कुखुरा फर्ममा अहिले एक हजार कुखुरामा १५ कुखुरा टक्सिसले मर्ने गरेको उहाँले बताउनुभयो। ब्रोइलर कुखुरा ४२ देखि ४५ दिनभित्र बिक्री गर्नुपर्ने हुन्छ तर कुखुरा एक महिना भएपछि यो रोग लागेर मर्ने गरेकाले कुखुरापालन गर्ने कृषक मर्कामा परेका छन्–उहाँले भन्नुभयोे। करिब दुई महिना अघिदेखि सुरु भएको सोे रोगको निदान हुन समय लागेकोे बताउँदै ग्वाछाले सो रोग दानाबाट आएको ठोकुवा गर्नुभयो। दाना उत्पादन गर्ने व्यापारीले भारतबाट ल्याउने दानाका सामग्री कमसल, ढुसी आएको हुने गरेको तथा दाना उत्पादन गर्नेले समेत दानामा ढुसी आएको चाउचाउदेखि पाउरोटीको टुक्रासमेत मिसाउन थालेपछि अहिले रोगको महामारी फैलिएको उहाँको भनाइ छ। भारतले राम्रो दाना जति आफ्नो देशमा राख्ने र बङ्गलादेश, श्रीलङ्कालगायतका देशमा पठाउने तर नराम्रो, बिग्रिएको, ढुसी परेको सामान सस्तोमा नेपाल पठाउने गर्नाले कुखुरामा रोगको महामारी फैलिएको व्यवसायीले बताएका छन्। “दाना उत्पादन गर्ने व्यवसायीले राम्रो दाना उत्पादन नगरेसम्म सो समस्या रहिरहन्छ”–ग्वाछाले भन्नुभयो। |