September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

बासु उच्च माविमा छात्रवृत्ति वितरण

भक्तपुर, १ असोज। बासु उच्च माध्यमिक विद्यालयको आयोजनामा छात्रवृत्ति, पोशाक र प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी दीपक काफ्लेले भक्तपुरमा करिब १९ हजार निरक्षर रहेकाले सबै मिलेर काम गर्‍यौं भने १–२ वर्षभित्र निरक्षर मुुक्त जिल्ला घोषणा गर्नसकिन्छ भन्नुभयो। 

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय संयोजक रवीन्द्र ज्याख्वले नेपाली जनताले हरेक सामान खरिद गर्दा सरकारलाई कर तिरिरहेका छन् तर गरिब जनतालाई शिक्षाबाट बञ्चित गरिएको छ, शिक्षा बराबर हुनुपर्दछ र शिक्षालाई निजीकरण गर्नुहुँदैन। जुन–जुन विद्यालय समुदायमा हस्तान्तरण भएको छ ती विद्यालयको एसएलसी परीक्षाको परीक्षा फलभन्दा समुदायमा हस्तान्तरण नभएको विद्यालयको परीक्षा परिणाम राम्रो भएकोले विद्यालयलाई समुदायमा होइन राष्ट्रियकरण गर्नुपर्दछ उहाँले भन्नुभयो। 

बासु उमाविका प्रबन्ध निर्देशक बालमुकुन्द बासुकलाले अभिभावकहरूले आफ्ना छोराछोरीबारे जानकारी राख्नुपर्ने बताउँदै समाजमा धेरै विकृति देखिएकोले सतर्क हुनुपर्ने बताउनुभयो। 

बासु उमाविका प्राचार्य अम्बिका न्याइच्याईको सभापतित्वमा भएको सो कार्यक्रममा स्वागत सहप्राचार्य लक्ष्मीभक्त लासिवाले गर्नुभएको थियो। कार्यक्रममा जिशिअ काफ्लेले नर्सरीदेखि कक्षा ३ सम्मका ५४ जना विद्यार्थीहरूलाई पोशाक वितरण, नेक्राविसङ्घ अध्यक्ष ज्याख्वले नेक्राविसङ्घको दसौं राष्ट्रिय सम्मेलन प्रचारार्थ भएको मैत्रीपूर्ण फूटबल प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण, प्रबन्ध निर्देशक बालमुकुन्द बासुकलाले कक्षा ११ प्रवेश परीक्षामा प्रथम भएका विद्यार्थीहरूलाई पुरस्कार वितरण, प्राचार्य अम्बिका न्याइच्याईले कक्षा ११ र १२ को एकाइ परीक्षामा सहभागीमध्ये प्रथम विद्यार्थीहरूलाई पुरस्कार वितरण र सहायक प्राचार्य लक्ष्मीभक्त लासिवाले उमाशिपबाट प्राप्त छात्रवृत्ति प्रदान गर्नुभयो।