एक वर्षमै इन्टरनेट प्रयोगकर्ता दोब्बर बढे वायरलेस र फाइवरमा आकर्षण बढी छ
काठमाडौं, ८ असोज। नेपालमा एक वर्षको अवधिमा इन्टरनेट प्रयोगकर्ता दोब्बर पुगेका छन्। एक वर्षअघि करिब ३१ लाख रहेका इन्टरनेट प्रयोगकर्ता सन् २०१२ अगष्टमा ५१ लाख पुगेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अब १९ प्रतिशत नेपालीहरूमा इन्टरनेटको पहुँच पुगेको छ।
प्राधिकरणका अनुसार यो अवधिमा वायरलेस र फाइवर अप्टिक्स प्रविधिबाट इन्टरनेट चलाउनेको सङ्ख्या दोब्बरजस्तै भएको छ। अगष्ट २०१२ मा ४५ हजार ६ सय २ जनाले प्रयोगकर्ताले वायरलेस र फाइवर प्रयोग गरेका छन्।
यो अवधिमा जीपीआरएस र एडीएसएल प्रयोगकर्ताको सङ्ख्या पनि ह्वात्तै बढेको छ। एक वर्षअघि एकलाखमात्र जीपीआरएस प्रयोगकर्ता रहेकोमा अहिले १ लाख ८७ हजार पुगेका छन्।
यस्तै एडीएसएल प्रयोगकर्ता ६८ हजारबाट बढेर ९२ हजार पुगेका छन्। इन्टरनेट सेवामा टेलिकम सेवा प्रदायकको हिस्सा बढेसँगै निजी आईएसपीहरूको हिस्सा घट्दै जान थालेको छ। खासगरी टेलिकमको एडीएसएल प्रविधिका कारण निजी आईएसपीहरू मूल्य घटाउन बाध्य भएका छन् भने सेवाको गुणस्तरमा पनि वृद्धि भएको छ।
इन्टरनेट सेवा प्रदायकहरूको संस्थाका अध्यक्ष विनय बोहोराका अनुसार अहिले वायरलेस र फाइवरमार्फत् गुणस्तरीय सेवा लिन चाहने ग्राहकको सङ्ख्या बढ्दो छ। पहिले विदेशी कूटनीतिक नियोग र कर्पोरेट हाउसमा मात्र सीमित रहेको उच्च गतिको इन्टरनेट अब विस्तारै आम पहुँचमा पुग्न थालेको छ।
यो अवधिमा केवल तथा डायलअप प्रयोगकर्ताको सङ्ख्या भने ह्वात्तै घटेको छ। अघिल्लो वर्ष १८ हजार रहेका केवल इन्टरनेट प्रयोगकर्ता ३ हजार घटेर १५ हजारमा सीमित भएका छन भने डायलअप इन्टरनेट प्रयोगकर्ता जम्मा २१ हजार रहेको छ।
पुरानो र कम गतिको सेवाबाट ग्राहकहरूले वायरलेस र फाइवर अप्टिक्स सेवामा फड्को मारेको सेवा प्रदायकहरूको भनाइ छ।
|