September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

गैरकानुनी कामको अखडा बन्दै डेक्सटपहरू

हरिसुन्दर छुकां
    भक्तपुर, १७ असोज।  जिल्लाका विभिन्न स्थानमा बढेको डेक्सटपहरूले देखावटी रुपमा फोटोकपि, टाइपिङ, डिजाइनिङजस्ता काम गर्ने गरे तापनि गुप्त रुपमा भने विविध गैरकानुनी काम गरिरहेका छन्। 
    विभिन्न व्यक्तिहरूले सञ्चालनमा ल्याएका डेक्सटपहरूमा गैरकानुनी ढङ्गका काम भइरहे पनि प्रशासन कार्यालयले अनुगमन र निरीक्षणमा ध्यान पुर्‍याउन नसकेको धेरैको भनाइ छ।
    सेवाग्राहीहरूलाई विभिन्न प्रकारले सेवा दिने नाममा खोलिएका त्यस्ता डेक्सटपहरूले सेवाको नाममा पैसाको लोभमा परेर विभिन्न सरकारी कार्यालयहरूका फर्जी, छाप, लेटरप्याड, विभिन्न सङ्घसंस्था तथा विद्यालय/कलेजका नक्कली परिचयपत्र, प्रमाणपत्रदेखि सवारी साधनका नक्कली लाइसेन्ससम्म पनि गोप्य ढङ्गले बनाइदिने गरेका छन्। 
    भक्तपुर नगरपालिकाका विभिन्न क्षेत्रमा सयौंको सङ्ख्या डेक्सटपहरू खुले पनि कति सङ्ख्यामा छ भन्ने आँकडा नगरपालिकासँग छैन।
    'दर्ताविना नै चलाएका छन् धेरै डेक्सटपहरू। कति सङ्ख्यामा छन्, तथ्याङ्क नै छैन।' नपाको प्रशासन शाखाका एक कर्मचारी भन्छन्। 
    नपा स्रोतका अनुसार नगरपालिकाअन्तर्गतका च्याम्हासिंह, कमलविनायक, सूर्यमढी, दत्तात्रय, इनाचो, गोल्मढी, जेँला, सुकुलढोका, वंशगोपाल, सूर्यविनायक, दूधपाटी, सल्लाघारी, जगाती, मालपोत परिसरलगायतका स्थानहरूमा सयौंको सङ्ख्यामा विभिन्न नाम राखेर डेक्सटपहरू खुलेका 
छन्। 
    'मैले यो कार्ड च्याम्हसिंहको एक डेक्सटपबाट बनाएँ, यो यति सानो कागजको १ सय ५० लियो।' रङ्गरोगनका काम गर्दै आएका भक्तपुर ब्रम्हायणी रोडमा डेरामा बस्ने ३० वर्षीय प्रमोद गिरीले भने। 
    गिरीले आफू कहिले कता कहिले कता गइरहनुपर्ने भएकोले बस चढ्दा विद्यार्थी छुट पाउन आफूले भक्तपुरकै एक डेक्सटपबाट फर्जी परिचय पत्र बनाएको बताए। 
    'कसले भन्छ यसलाई यो नक्कली कार्ड हो भनेर?' उनले प्रतिप्रश्न गरे। उनका अनुसार भक्तपुरका धेरै डेक्सटपहरू त्यस्तै फर्जी काम गरेर चलेको बताए।
'पैसा दिएपछि जे पनि गरिदिन्छ, जस्तोे पनि बनाइदिन्छ।' उनले भने 
    यता सूर्यविनायकस्थित एक डेक्सटप सञ्चालकले नाम र ठेगाना गोप्य राख्ने शर्तमा भने–'त्यो त्यति आश्चर्य र समाचार बनाउनुपर्ने विषयमा नै होइन, यहाँका धेरैजसो डेक्सटपमा यस्तै काम बढी हुने गरेका छन्।'
    'प्रविधिको जमानामा सबै कुरा सहज र 'हो जस्तै' गरी बनाउन सकिन्छ, हामीले त्यसरी बनाउने काम गोप्य तरिकाले गछौं।' उनले भने। 
    विशेषगरी यस्तो गराउनेमा डेरा गरी बस्ने, बसमा बढी ओहोरदोहोर गर्नुपर्ने र राम्रो शैक्षिक योग्यता नभएकाहरू रहेको सञ्चालकहरूको भनाइ छ।