September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

एक्स–रे मेसिन चोरी भएपछि सेवा ठप्प

गोलबजार (सिरहा), १७ असोज। सिरहाको लहानस्थित एक सरकारी अस्पतालबाट अल्ट्रासाउण्ड (भिडियो एक्स–रे) मेसिन चोरी भएपछि पाँच दिनदेखि सेवा ठप्प भएको छ।
    लहान नगरपालिका–३ स्थित रामकुमार सारडा उमाप्रसाद मुरारका अस्पतालको अप्रेसन कक्षबाट रु. पाँच लाख पर्ने भिडियो एक्स–रे मेसिन असोज १२ गते राति चोरी भएको हो। 
    मेसिन चोरीका कारण एक्स–रे गर्नुपर्ने बिरामी स्थानीय निजी क्लिनिक धाउन बाध्य भएको अस्पताल प्रशासनले जनाएको छ।
    अस्पतालका प्रमुख मिश्रीलाल साहले एक्स–रे गराउन दैनिक आठ/दस जना बिरामी आउने गरेको, तर मेसिन नभएर फर्किने गरेको बताउनुभयो। 
    मेसिन पत्ता लगाउन आन्तरिकरुपमा खोजी भइरहेको अस्पताल प्रमुख साहले बताउनु भयो।
    अप्रेसन कक्षको ढोका फुटाएर चालू अवस्थामा रहेको भिडियो एक्स–रे मेसिन चोरिएको तर बिग्रेको ईसीजी मेसिन नलगिएकोले चोरीमा जानकार व्यक्तिको हात रहेको आशङ्का गरिएको छ। 
    अस्पतालबाट एक महिना अगाडि बच्चाको धड्कन नाप्ने मेसिन पनि चोरी भएको थियो। रु. एक लाख पर्ने उक्त मेसिन पनि अहिलेसम्म फेला परेको छैन।