|
मायोज चाउचाउलाई जरिवाना
विराटनगर, १८ असोज। गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरले नापतौलमा ठगी गर्ने मायोज चाउचाउलाई जरिवाना गरी कारोबार गर्न फुकुवा गरेको जनाएको छ। हिमालय स्न्याक्स एण्ड नुडल्स प्रालि काभ्रेपलाञ्चोकद्वारा उत्पादित मायोज इन्स्टेण्ट नुडल्सको प्याकेटमा तोकिएको भन्दा कम तौल पाइएपछि उक्त उद्योगलाई रू. दुई हजार जरिवाना गर्नुका साथै तौल कम भएका चाउचाउको प्याकेट जफत गरिएको छ। सो कार्यालयका प्रमुख शशिभूषण यादवको नेतृत्वमा खटिएको टोलीले विराटनगर–८ स्थित एक डिलरको गोदाममा अनुगमन गर्दा मायोज चाउचाउको ७५ ग्रामको प्याकेटमा ६ ग्रामसम्म घटी पाइएपछि कारबाही प्रक्रियाअन्तर्गत सोधपुछ तथा अनुसन्धान कार्य अगाडि बढाएको थियो। रू. १५ पर्ने एउटा प्याकेटमा तौल घटीका कारण एक रुपैयाँ ३० पैसा ठगी गरेको पाइएको बताइएको छ। विराटनगर–८ स्थित विष्णुलीला सप्लायर्स डिलरको गोदाममा जाँच गर्दा तौलमा घटी पाइएपछि नापतौल ऐन–२०२५ अनुसार कारबाही गरिएको प्रमुख यादवले बताउनुभयो।
|