September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

सरकारी मापदण्डअनुसार बालगृह सञ्चालन गर्नुपर्नेमा जोड

भक्तपुर, ९ मंसिर। विगतमा आफ्नै तरिकाले सञ्चालन गर्दै आएका बालगृहहरू अब सरकारले नयाँ बनाएको मापदण्ड २०६९ अनुसार सञ्चालन गर्नुपर्ने सम्बन्धित विज्ञले बताएका छन्। सहभागीहरूले बालकल्याणको लागि नभई बाल अधिकारको लागि अब बालगृहहरू सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो।  

बालबालिकाको स्याहार तथा संरक्षणको क्षेत्रमा विगत ४० वर्षदेखि कार्यरत अन्तर्राष्ट्रिय संस्था एसओएस बालग्राम नेपालले जिल्ला बालकल्याण समिति भक्तपुरको समन्वयमा आइतबार आयोजना गरेको छलफल तथा अन्तरसंवाद कार्यक्रममा विज्ञहरूले सो कुरा बताएका हुन्।  

अब बालग्राम सञ्चालन गर्दा बालबालिकाको सर्वाङ्गीण हितलाई मध्यनजर गर्दै उनीहरूको बाल अधिकारको संरक्षण गर्दै बालगृहहरू सञ्चालन गर्नुपर्ने केन्द्रीय बालकल्याण समितिका बाल अधिकार अधिकृत सन्तोष थापाले बताउनुभयो। उहाँले बालबालिकाका लागि आवास, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेलकुद, तथा मनोवैज्ञानिकलगायतका सबैपक्षलाई समेटेर बालगृह सञ्चालन गर्नुपर्ने वालगृह सञ्चालनसम्बन्धी सरकारी मापदण्ड २०६९ ले तोकेको बताउनुभयो। 

एसओएस बालग्राम नेपालकी सहायक निर्देशक तथा वैकल्पिक स्याहार अभियानकी संयोजक सुष्मा पोखरेलले विभिन्न कारणले आफ्नो परिवारबाट विमुख भई बालगृहमा आश्रित बालबालिकाको सर्वाङ्गीण विकासका लागि एसओएस बालग्रामले अपनाएका वैकल्पिक स्याहारका बारेमा चर्चा गर्दै एसओएस बालग्राम नेपालले मुलुकभरिका बालगृहमा एउटै स्तरको वैकल्पिक स्याहार नीतिको अवधारणा अघि सारेको उहाँले बताउनुभयो। 

छलफल कार्यक्रममा भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौला , स्थानीय विकास अधिकारी राजेन्द्र्रकुमार केसी, जिल्ला बालकल्याण समितिका अध्यक्ष कृष्णेश्वरी हाडा, बालगृह सञ्चालकहरूको संस्था सिनेट नेपालका महासचिव तथा एसओएस जोरपाटीका निर्देशक रविन नेपाली तथा एसओएस बालग्राम सानोठिमीका नविन बज्राचार्यलगायतले बालबालिकाको वैकल्पिक स्याहार र बालगृह सञ्चालने मापदण्डबारे चर्चा गर्नुभएको थियो।