भूकम्पको चार वर्षसम्म पनि त्रिपालमा बास
पोर्ट ओ प्रिन्स, १० मंसिर। हाइटीकी एक आठ वर्षीया बालिका विद्लेने गाब्रिएलले आफ्नो उमेरको आधा समय अस्थायी शिविर अर्थात् त्रिपालमा बिताएकी छिन्।
भूकम्प गएको चार वर्ष बित्न लाग्दा पनि गाब्रिएल र उनका परिवार हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको पूर्वीय उपनगर ओन्भील्लेमा रहेको एक त्रिपालमा बसोबास गर्दै आएका छन्।
सन् २०१० को जनवरी १० तारिखमा गएको भूकम्पबाट आफ्नो घर भत्किएको तर आफू चाहिं बचेको गाब्रिएलले बताए। त्यसपश्चात् नै उनीहरु सो त्रिपालमा बस्दै आएका छन्।
भूकम्पको कारण त्यस बखत करिब १५ लाख व्यक्ति घरवारविहीन भएका थिए। त्यसपछि पनि निकै लामो समयसम्म उनीहरुले सहायता पाएका थिएनन्।
हाइटीमा सन् २०१० को जनवरीमा गएको शक्तिशाली भूकम्पमा गाब्रिएलजस्तै लाखौं व्यक्ति विस्थापित भएका र तीमध्ये केहीको अझै पनि त्रिपालमा बास भएको छ।
सो भूकम्पको कारण घरबारविहीन करिब १ लाख ७० हजारभन्दा बढी व्यक्ति अझै पनि अस्थायी शिविरमा रहेका हालै प्रकाशित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
त्यस बखत गएको सो भूकम्पमा परी करिब दुई लाख ५० हजार व्यक्तिले ज्यान गुमाएका थिए। अरु हजारौं व्यक्ति घाइते छन्। यसैगरी लाखौं व्यक्ति घरबारविहीन भएका थिए भने कैयौं घर परिवार अस्थायी शिविर त्रिपालमा रहदै आएका छन्। अझै पनि सोही त्रिपालमा बसोबास गर्न बाध्य भएका ती परिवारले राम्रो खाना र बासको प्रबन्ध पनि पाएका छैनन्। एएफपी |