September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

थाइल्यान्डमा सरकारविरोधी प्रदर्शन जारी

बैङ्कक, ११ मंसिर। थाइल्यान्डका विपक्षी दलहरूले मङ्गलबार पनि सरकारका विरुद्धको प्रदर्शनलाई जारी नै राखेको  जनाइएको छ।  

प्रदर्शनकारीहरूले सोमबार त्यहाँको अर्थमन्त्रालयमा प्रवेश गरेर विरोध गरेका थिए। मङ्गलबार उनीहरूले सो विरोध प्रदर्शनको कार्यक्रमलाई थप मन्त्रालयमा विस्तार गर्ने जनाएका हुन्।   

सोही कार्यक्रमबमोजिम मङ्गलबार बिहानैदेखि उनीहरू थप पाँचवटा मन्त्रालयमा प्रवेश गरी त्यहाँबाट ती मन्त्रालयमा कार्यरत कर्मचारीलाई बाहिर निस्किन दबाब दिएका हुन्।  

मङ्गलबार ती प्रदर्शनकारीहरूले थाइल्यान्डको कृषि, पर्यटन, गृह, यातायात र खेलकुद मन्त्रालयमा प्रवेश गरेका हुन्। उनीहरूले सोमबार विदेश तथा अर्थ मन्त्रालयमा प्रवेश गरेर विरोध गरेका थिए।  

प्रधानमन्त्री यिङलक सिनावात्रालाई पदच्युत गर्न थप सरकारी भवन नियन्त्रण गर्ने चेतावनी दिएका उनीहरू आज ती मन्त्रालयमा प्रवेश गरेर विरोध गरिरहेका विपक्षी गठबन्धनहरूले जनाएका छन्। 

थाइल्यान्डमा अपदस्थ पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्राको विरोधमा सन् २०१० मा गरिएको यस्तै प्रदर्शनपछि यतिखेर ठूलो सङ्ख्याका नागरिकहरूको सहभागितामा प्रदर्शनहरू हुन थालेका छन्। 

थाकसिनलाई राजावादी सैनिक जनरलहरूले सन् २००६ मा पदमुक्त गरेका थिए। त्यसको विरोधमा पनि यस्तै प्रदर्शन भएको थियो। प्रहरीले करिब ३० हजार प्रदर्शनकारी राजधानीमा सोमबार एक दर्जनभन्दा बढी सरकारी कार्यालयमा पुगेको बताएको छ। 

थाइल्यान्डको तल्लो सदनमा बहुमत भएको सरकारले हालैमात्र आममाफी दिनेसम्बन्धी कानुन पारित गरेको थियो। तर त्यसलाई त्यहाँको राष्ट्रिय सभाले असफल गराइदिएको थियो। 

प्रधानमन्त्री यिङलकले आफ्ना दाजु एवम् पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्रालाई आममाफी दिई स्वदेश फर्किन पाउने गरी सो कानुन ल्याएको आरोप विपक्षीहरूले जनाएका छन्।  

पूर्वप्रधानमन्त्री थाकसिन सन् २०१० पछि भ्रष्टाचारको आरोपमा विदेश निर्वासनमा रहँदै आउनुभएको छ। उक्त कानुन पारित भएको भए उहाँलाई स्वदेश फर्किने बाटो खुल्ने थियो।  

सो कानुनको विरोधमा हालका दिनहरूमा सरकारविरोधी प्रदर्शनहरू हुनथालेका हुन्। सो कानुनलाई राष्ट्रिय सभाले असफल गराइदिएको भएपनि विरोध प्रदर्शन भने जारी नै रहेका छन्। 

उनीहरूले प्रधानमन्त्री यिङलकको राजिनामाको माग गरेका छन्। प्रधानमन्त्री यिङलकले आफ्ना समर्थकहरूलाई सोमबार आफूले राजिनामा नदिने र संसद पनि विघटन नगर्ने बताउनुभएको छ।  

तर विशेषज्ञहरूले भने प्रधानमन्त्री यिङलकले सरकारमा नियन्त्रण गुमाउन थालेको धारणा व्यक्त गरेका छन्। सोही कारण विपक्षीहरूले सरकारका विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव ल्याएका छन्।  

गत साता थाइल्यान्डको संवैधानिक अदालतले सत्ताधारी दलले संसदको माथिल्लो सभा सिनेटको निर्वाचन गर्न तयार गरेको योजनालाई पनि रोकिदिएको थियो।  

प्रतिपक्षी डेमोक्र्याटिक पार्टीले मङ्गलबारदेखि प्रधानमन्त्री यिङलकविरुद्ध अविश्वासको प्रस्ताव राख्नेछ। तल्लो सभामा उहाँको बहुमत भएकाले उहाँले सजिलै यसमा विजय हासिल गर्ने देखिएको छ।  

वैधानिक रुपमा संसदमा ल्याइएको उक्त प्रस्तावको मतदानमा सहभागी भई प्रजातान्त्रिक बाटो अवलम्बन गर्नुपर्नेमा विपक्षीहरूले जबरजस्ती मन्त्रालयमा गई सरकारी कामकाज ठप्प पारेको भन्दै आक्रोस व्यक्त गरेको छ।  

प्रधानमन्त्री यिङलकले देशमा पर्यटन व्यवसाय तथा आर्थिक क्षेत्र पनि वर्तमान आन्दोलनका कारण डुब्न थालेको भन्दै तत्कालै आन्दोलन रोकी प्रजातान्त्रिक बाटो अपनाउन विपक्षीहरूलाई आग्रह गर्दै आउनुभएको छ।          एएफपी