September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

नगरपालिकामै पचास घरलाई एक धारा 

बागलुङ, १२ मंसिर। नगरपालिका भन्ने बित्तिकै त्यहाँ मानवीय आवश्यकताका अधिकतम सुविधा उपलब्ध हुन्छन् भनेर बुझिन्छ।  

त्यसकै लागि नगरपालिकाको परिकल्पना र विकास गरिन्छ। मानिसहरू सुविधासम्पन्न जीवनयापनका लागि नगरक्षेत्र रोज्दछन् र सुविधा उपभोग गरेबापत राज्यलाई कर तिर्छन्। तर बागलुङ नगरपालिकाको एक गाउँका बासिन्दा नगरपालिका बनेको १६ वर्ष बित्दासम्म पनि खानेपानीको चरम अभाव झेल्न बाध्य छन्। पानीजस्तो दैनिक आधारभूत आवश्यकताको समेत परिपूर्ति हुन नसक्नुले नगरक्षेत्र भित्रकै विकासको स्तरमा प्रश्न उठेको छ। नगरपालिकाको वडा नं. ७ स्थित भीरमुनिका बासिन्दा वर्षौंदेखि पिउने पानीको चर्को अभावबाट गुजि्ररहेका छन्।  

उक्त गाउँमा रहेका करिब ५० घरका बासिन्दा अहिले एउटै खानेपानी धारामा निर्भर हुनुपरेको छ, त्यो पनि बर्खायामको समयमा मात्र। हिउँदमा त त्यही धारामा पनि पानी बन्द हुने गरेको छ। “पाँच महिना त त्यहीं धारामा पनि पानी आउँदैन, फागुन लागेपछि घरदेखि टाढाको बाटोमा पुगेर पानी ल्याउनुपर्ने बाध्यता छ”– स्थानीय शान्त विश्वकर्माले भन्नुभयो। तुलनात्मक रूपमा दलित जातिको बढी बसोबास रहेको उक्त गाउँमा बर्सेनि पानीको समस्या लिएर स्थानीय नगरपालिका धाउने गरे पनि कुनै सुनुवाइ नभएको गाउँलेको भनाइ छ। 

वर्षैपिच्छे पानीको समस्या समाधानका लागि योजना माग गर्न नगरपालिका पुगे पनि कुनै ठोस योजना निर्माणको पहल हुन नसकेको स्थानीय अगुवा कुमार विश्वकर्माले बताउनुभयो। “नगरपालिकाबाट पानीका लागि भनेर सानो मात्रामा बजेट छुट्टिन्छ, त्यसले कुनै काम गर्न सकिँदैन, यहाँको आवश्यकताको पहिचान गरी प्राथमिकताका साथ योजना बन्नुपर्छ”–विश्वकर्माले भन्नुभयो– “जताततै कनिका छरेजस्तो गरी बजेट छुट्याइँदा कुनै पनि काम सम्पन्न नहुने र योजना व्यवस्थित नहुने समस्या छ।” सदरमुकाम नजिकैको गाउँमा पनि खानेपानीको उचित प्रबन्ध नुहुन दुःखद् भएको उहाँको भनाइ छ।  

हाल मालिकाबाट ल्याइएको पानी एउटै धाराबाट प्रयोग गर्दै आएका भीरमुनिका ५० घरका बासिन्दाले बर्खायामको समयमा स्थानीय खहरेखोलाबाट ल्याएको अस्थायी पानीबाट समेत आवश्यकता टार्ने गरेका छन्। हिउँदको समयमा त पानीको हाहाकार नै हुने स्थानीयको भनाइ छ। नगरपालिकाले भने पानीको स्रोत नै नभएका कारण योजना निर्माणमा कठिनाइ भएको बताएको छ। तर नगरपालिकाको उक्त जवाफप्रति स्थानीयवासी सन्तुष्ट छैनन्। टाढाबाट भए पनि स्रोत ल्याउनुपर्ने, नभए अन्य वैकल्पिक व्यवस्था गरेर भए पनि नगरपालिकाले पिउने पानीको सहज वितरणको व्यवस्था मिलाउनुपर्ने उनीहरूको माग छ। 

बागलुङ नगरपालिका–७ का सचिव रुद्रबहादुर केसीले पानीको समस्या टड्कारो भएको स्वीकार्दै दीर्घकालीन रूपमा पानीको समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिनुभयो। उहाँले गत वर्ष थप एउटा पानी ट्याङ्की निर्माण भएको र यो वर्ष पनि खानेपानीका लागि भनेर नगरपालिकाले थप ५० हजार बजेट विनियोजन गरेको बताउनुभयो। त्यस्तै जिल्ला विकास समितिले पनि एक लाख रुपैयाँ बजेट छुट्याएको केसीले जानकारी दिनुभयो। 

खानेपानीको बढ्दो समस्यालाई हल गर्न नगरपालिकाले यो वर्षभित्र थप कामहरू गर्ने नगरपालिकाका कार्यकारी अधिकृत हरिदत्त कँडेलले बताउनुभयो। “पानीको स्रोत नै नभएर पनि समस्या भएको हो, हामीले स्रोत हुने ठाउँमा पहिचान गर्छौं र थप पूर्वाधारलगायत अन्य निर्माणका काममा जोड दिनेछौं”– कँडेलले भन्नुभयो। 

उहाँले वैकल्पिक रूपमा आकाशे पानी सङ्कलनका लागि घैंटे प्रविधि पनि अपनाउन सकिने बताउनुभयो। हाल मालिकाबाट आएको पानीको मुहानबाटै थप प्रविधि जडान तथा पूर्वाधर निर्माण गरेर पानीको वितरणलाई बढाउन सकिने नगरपालिकाले जनाएको छ। रासस 

 

 

 

 

 

 

थाइल्यान्ड अदालतद्वारा विपक्षी नेताविरुद्ध पक्राउ आदेश स्वीकृत 

ब्याङ्कक, १२ मंसिर। थाइल्यान्डको फौजदारी अदालतले हालको प्रमुख प्रदर्शनकारी नेता सुथेप थाउगसुबानले सरकार पतन गराउने प्रयासमा अनेकौं मन्त्रालयलाई कब्जा गरेको आरोपमा मङ्गलबार निजविरुद्ध पक्राउ आदेशलाई स्वीकृति प्रदान गरेको छ। 

राजधानीको बाङ सु प्रहरी केन्द्रका कर्णेल सुनथोर्न कोङक्लामले आफूहरूले थाउगसुवानलाई आत्मसमर्पण गर्न भनेको र निजलाई देख्नासाथ प्रहरीले पक्राउ गर्नसक्ने बताए। 

पूर्व उपप्रधानमन्त्री तथा वरिष्ठ प्रतिपक्षी नेता सुथेप पनि सोमबार अर्थमन्त्रालय कब्जा गर्ने प्रदर्शनकारीको साथमा रहेका थिए।  

थाइल्यान्डमा सन् २०१० मा सबैभन्दा ठूलो सडक प्रदर्शन भएको थियो र त्यस समयमा सैनिक कारवाहीमा ९० नागरिकको मृत्यु भएको थियो।  

हाल प्रधानमन्त्री यिङलक सिनावात्रा तथा उहाँका दाजु अपदस्थ प्रधानमन्त्री थाकसिन सिनावात्राको विरोधमा दसौं हजार जनताले सडक प्रदर्शन गरेका छन्।  

पूर्व प्रधानमन्त्री तथा हालका प्रतिपक्षी नेता अभिसित भेजाजिवा तथा सुथेपविरुद्ध सैनिक कारवाहीमा मरेका व्यक्तिको हत्या गरेको आरोप लगाइएको छ। सरकारको आममाफी विधेयकविरुद्ध पनि हाल विरोध देखिएको छ।       

एएफपी 

 

 

 

 

 

बङ्गलादेशमा निर्वाचन सर्नसक्ने 

ढाका, १२ मंसिर। बङ्गलादेशमा आगामी जनवरीको सुरुवातमा हुने भनिएको निर्वाचन सर्न पनि सक्ने बताइएको छ। बङ्गलादेशको निर्वाचन आयोगले बुधबार सो निर्वाचन केही समयका लागि पछि सार्न पनि सकिने बताएको समाचारमा जनाइएको छ। 

त्यहाँका विपक्षी दलहरूले उक्त निर्वाचनका विरुद्धमा आन्दोलन थालेपछि निर्वाचन आयोगले पनि ती दललाई समेत समेट्ने उद्देश्यले निर्वाचनको मिति पछि सार्नसक्ने विषयमा छलफल सुरु गरेको जनाएको हो। 

यदि सबै दललाई राजनीतिक सहमतिमा ल्याउने हो र उनीहरूको सहभागितामा निर्वाचन गर्ने हो भने निर्धारित जनवरीको सट्टा केही समय पछि निर्वाचन सार्न पनि सकिने बताइएको हो।  

एकजना निर्वाचन आयुक्त मोहमद सहनवाजले त्यस विषयमा निर्वाचन आयोगले मात्र कुरा गरेको तर सरकारका तर्फबाट भने केही नआएको जानकारी दिनुभएको छ। 

यसअघि सरकारले जनवरी ५ मा आमनिर्वाचन गर्ने घोषणा गरेको थियो। विपक्षीहरूले सोही निर्वाचनलाई लक्ष्य गरी आन्दोलनको घोषणा गरेका छन्। उनीहरूले चुनावी सरकार गठन गरी निर्वाचनको मिति पनि अर्काे घोषणा नगरेमा आफूहरूले निर्वाचन नै बहिस्कार गर्ने चेतावनी दिएका छन्। यसले गर्दा सधैंजसो राजनीतिक सङ्कट गहिरिने गरेको बङ्गलादेशमा फेरि अर्काे एक पटक समस्या थपिएको बताइएको छ। 

गतहप्ता मात्र बङ्गलादेशको सरकारले सो निर्वाचनको मिति तोकेपछि सुरु भएको आन्दोलनका क्रममा नौ जनाको मृत्यु भइसकेको छ। राजधानी ढाकामा दिनहुँजसो विरोध प्रदर्शन गरी नै रहेका छन्। 

 

 

 

 

 

हेयानबाट पाँच हजारभन्दा बढीको मृत्यु 

मनिला, १२ मंसिर। फिलिपिन्समा करिब तीनहप्ता अगाडि आएको आँधीमा परी मृत्यु हुनेको सङ्ख्या पाँच हजार ५५० पुगेको समाचार छ। 

उक्त जानकारी फिलिपिन्सको प्राकृतिक प्रकोपसम्बन्धी निकायले बुधबार दिएको हो। सो आँधीको उद्वारको काम अहिले पनि जारी रहेको जनाइएको छ। 

आँधी प्रभावित क्षेत्रबाट २६० वटा शव निकालेपछि उक्त सङ्ख्या पाँच हजार २४० बाट बढेर ५ हजार ५५० पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण तथा व्यवस्थापन केन्द्रले बुधबार बताएको छ। 

ताक्लोबान सहरबाट २०७ वटा, लेट प्रान्त्ाबाट ४६ र समर प्रान्तबाट सातवटा शव प्राप्त भएको जनाइएको छ।    

फिलिपिन्समा आएको  हेयान नामक आँधीले तामक्लोबान सहर, लेट र समर प्रान्तलाई सबैभन्दा बढी प्रभावित बनाएको छ।  

आँधी प्रभावित क्षेत्रमा अझै पनि उद्वारको कार्य जारी नै रहेको बताइएको छ। अधिकारीहरूका अनुसार अझै पनि एक हजार ७५७ जना हराइरहेका र २६ हजार १३६ घाइते भएको जनाएका छन्। 

आँधी प्रभावित क्षेत्रका बालबालिकालाई सामुहिक खोप 

यसैबीच फिलिपिन्सको आँधीबाट प्रभावित क्षेत्रका बालबालिकालाई पोलियो र दादुरा विरुद्ध ठूलो परिमाणमा खोप अभियान सुरु गरिएको जनाइएको छ।  

उक्त जनाकारी संयुक्त राष्ट्रसङ्घीय निकायहरूले दिएका छन्। सो अभियानअन्तर्गत ताक्लोबान सहरमा मात्र ३० हजार बालबालिकालाई पोलियो र दादुरको खोप दिइएको  बताइएको छ। 

करिब तीन हप्ता अगाडि आएको हेयानले ताक्लोबान सहरमा हजारौं व्यक्तिको ज्यान गएको थियो। साथै सो क्षेत्रमा ठूलो सङ्ख्याका नागरिक पालमा बसिरहेका छन्।  

उक्त कार्यक्रम राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) र विश्व स्वास्थ्य सङ्गठनले संयुक्त रुपमा सञ्चालन गरेका हुन्।  

संयुक्त राष्ट्रसङ्घका अनुसार हेयान आँधीबाट अति प्रभावित लेट र समर प्रान्तका पाँच लाख बालबालिकालाई सो खोप दिलाउने उद्देश्य राखेका जनाइएको छ।  

सिन्ह्वा–एएफपी