September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

म्यादी प्रहरीले उपचार पाएनन्

बेलौरी (कञ्चनपुर), १३ मंसिर। निर्वाचनमा सुरक्षा दिन खटिएका एक म्यादी प्रहरी उपचारबाट वञ्चित भएका छन्।  

कञ्चनपुरबाट बैतडी खटिएका भीमदत्त नगरपालिका–७ हल्दुखालका म्यादी प्रहरी राजेन्द्र चन्द बैतडीको दशरथ चन्द नगरपालिका सुन्दरखालीस्थित दशरथ उमाविमा ड्युटीमा खटिएका बेला दुईतलाबाट खसेका थिए।  

दुईतलाबाट खस्दा चन्दको अघिल्तिरका तीनवटा दाँत खसेका छन् भने छाती र हातखुट्टमा समेत चोट लागेको उनको परिवारले जनाएको छ। उनका बुबा उदा चन्दका अनुसार राजेन्द्र कार्तिक १७ गते ड्युटीमा खटिएका बेला खसेका थिए, उनको उपचार बैतडी जिल्ला अस्पतालमा गरिए पनि निको हुन सकेको छैन।  सरकारले निर्वाचनमा खटिने जुनसुकै कर्मचारीलाई घाइते भएमा झण्डै २५ हजारबराबरको उपचार खर्च गर्ने व्यवस्था गरे पनि चन्दले भने सो रकम बराबरको उपचार नपाएको गुनासो गर्नुभयो।  

राजेन्द्रले आफ्नो तलबबापत पाँच हजार बराबरको उपचार गरे पनि निको नभएको बुबा उदाले बताउनुभयो।  

“म्यादी प्रहरी बनेर केही कमाउला भनेको त उल्टै उपचारका लागि खर्च हुने भयो” उदाले भन्नुभयो। घाइते चन्दको थप उपचार र क्षर्तिपूर्तिका लागि स्थानीय प्रशासनले  प्रहरीलाई परिपत्र पठाए पनि बैतडीका प्रहरी प्रमुख हुमनाथ निरौलाले उपचार खर्च दिन नमानेको उहाँले बताउनुभयो। उनका परिवारले घाइते चन्दको थप उपचार र क्षतिपूर्तिका लागि सरकारसँग माग गरेका छन्।                  रासस