September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

गरिबलाई जहिल्यै समस्यै समस्या

जाडो मौसम र गर्मी मौसम एकपछि अर्काे गर्दै आइरहन्छ। कसैलाई जाडो मौसम मन पर्छ त कसैलाई गर्मी मौसम। तर त्यस्तो भन्दैमा मौसमलाई रोकेर राख्न सकिंदैन। अनि मानिसलाई कछुवाजस्तै आधा वर्ष बिउँझिएर आधा वर्ष सुत्नसक्ने गुण पनि दिइएको छैन। लगातार दिनहुँ मिहेनत गरेर खानैपर्छ। कार्तिक महिनाको अन्त्यमा आइपुग्दा नपुग्दै जाडोको अनुभूति भएको देखिन्छ। जाडो मौसम गरिब किसान तथा मजदुरहरूको लागि एउटा समस्या बनेको छ।  

दिनहुँ दुई छाक तार्न गार्‍हो पर्ने नेपाली अझ पनि नेपालमा प्रशस्त भेटिन्छन्। दिनहुँ मिहेनत गर्दा पनि आफ्नो घरपरिवार धान्न मुस्किल परी बिहान सबेरै र राति अबेरसम्म काम गर्नुपर्ने किसान तथा मजदुरहरूलाई जाडो मौसम मुस्किल महसुस हुनु स्वाभाविक छ। काठमाडौंमा तरकारी बेच्न जाने एक किसानका अनुसार 'जाडो मौसम त निकै काट्न गार्‍हो छ। बिहान सबेरै नजाऊँ व्यापार नहुने जाऊँ जाडोले कठ्याङग्रिएर मर्लाजस्तो हुने।' अवश्य जाडो महिनामा शरीरलाई न्यानो बनाउन अति आवश्यक छ। नेपालका कैयौं किसान तथा मजदुरले नयाँ, न्यानो, बाक्लो स्वीटर, ज्याकेट त परको कुरा छोराछोरीलाई लुगा किन्ने पैसा छैन। एक गृहिणी भन्नुहुन्छ 'छोराछोरी जाडोले समय–समयमा बिरामी हुन्छन्। औषधि उपचार गर्न पैसा छैन। खोइ सरकारले कहिले गरिबको मर्का बुझ्छ?' 

प्रत्येक वर्षको जाडो मौसमले नेपालीहरूलाई घाउमा नुन छर्केजस्तै हुन्छ। बजार भाउको मूल्यवृद्धिले त्यसमा अरु थप समस्या थुपारेको देखिन्छ। न त जाडो महिनामा गरिब नेपाली आधुनिक स्रोतको प्रयोग गर्नसक्छन् न त पेटभर नै खान पाउँछन्। सम्पूर्ण रुपबाट जाडो महिना गरिबलाई समस्या बनेको देखिन्छ। सरकारले गरिबको बारेमा अब त केही अवश्य सोच्नुपर्दछ।  

–समिता दुवाल, प्रशिक्षार्थी