September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

ट्याङ्कर चालकद्वारा हड्ताल फिर्ता

पानीट्याङ्की (मोरङ), १५ मंसिर। बढेको महँगीअनुसार तलब भत्ता माग गर्दै पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाएर हड्तालमा उत्रिएका ट्याङ्कर चालकले शनिबारदेखि हडताल फिर्ता लिएका छन्। बुधबारदेखि भारतबाट इन्धन ढुवानी गरेर ल्याउन र विराटनगरस्थित नेपाल आयल निगमको डिपोबाट इन्धन लैजाने कार्य नै ठप्प पारेर तलब भत्ता वृद्धिको माग गर्दै हडतालमा उत्रिएका ट्याङ्कर चालक र व्यवसायीबीच शुक्रबार भएको वार्तामा सम्झौता भएपछि ट्याङ्कर चालकले हडताल फिर्ता लिएका हुन्। 

ट्याङ्कर व्यवसायी, चालकबीच बिहीबार र शुक्रबार गरी तीन चरण वार्ता भएको र उनीहरूको माग पूरा गर्ने सम्झौता भएपछि हडताल फिर्ता भएको ट्याङ्कर व्यवसायी सङ्घका अध्यक्ष गुणराज निरौलाले जानकारी गराउनुभयो।  

पूर्वाञ्चलमा २६० वटा ट्याक्टर नेपाल आयल निगमको विराटनगरस्थित कार्यलयमा भारतबाट इन्धन ल्याउने र निगमबाट पम्पसम्म लाने गर्दछन्। तीनदिनसम्म पम्पमा तेल आपूर्ति हुन नसक्दा पूर्वमा तेलको अभाव सुरु भइसकेको थियो।  

ट्याङ्कर व्यवसायीले हडताल फिर्ता लिए पनि शनिबार भएकाले आज निगमले तेल आपूर्ति गराएको छैन। आइतबारदेखि नियमितरुपले तेल ल्याउने र बिक्री गरिने निगमले जनाएको छ।                  रासस