अमेरिकी सैनिक विमानद्वारा चिनियाँ हवाई क्षेत्र अतिक्रमण
बेइजिङ, १५ मंसिर। बेइजिङले हालै घोषणा गरेको हवाई प्रतिरक्षा क्षेत्रमा अमेरिकी तथा जापानी विमान अनुगमन गर्न चिनियाँ युद्धक विमानहरू पुगे पनि आफूहरूले आफ्नो क्रियाकलाप परिवर्तन नगर्ने अमेरिकी सेना प्रमुखहरूले बताएका छन्।
यसो भए पनि अमेरिकी विदेश मन्त्रालयले अमेरिकी व्यापारिक विमानहरूलाई उक्त क्षेत्रमा प्रवेश गर्न चीनले माग गरे अनुसारको सूचना उपलब्ध गराउन आग्रह गरेको छ। मन्त्रालयले यसरी चीनले गरेको माग पूरा गर्दा अमेरिकी सरकाले चीनको माग पूरा गरेको सङ्केत नदिने पनि स्पष्ट पारेको छ।
चीनले एक साताअगाडि हवाई प्रतिरक्षा पहिचान क्षेत्रको घोषणा गरेपछि शुक्रबार चिनियाँ युद्धक विमानहरू त्यसतर्फ उडेको जानकारी चिनियाँ सरकारी आमसञ्चारले दिएका छन्। उक्त क्षेत्रमा बेइजिङ तथा टोकियोबीच विवाद रहेको क्षेत्र रहेका छन् र यसले क्षेत्रीय तनाव बढाएको छ।
सिन्ह्वाको समाचारमा चीनले पूर्वी चीन जलक्षेत्र भएर उड्ने विमानले आफ्नो उडान योजना बारेमा जानकारी दिनुपर्ने अन्यथा अज्ञात प्रतिरक्षात्मक आपतकालीन उपाय भोग्नुपर्ने निर्णय गरे पनि जापान तथा अमेरिकाले त्यसलाई स्वीकार नगरेको उल्लिखित छ।
पेन्टागनका प्रवक्ता कर्णेल स्टिव वारेनले शुक्रबार अमेरिकी विमानहरू प्रशान्त क्षेत्र तथा चीनले हवाई प्रतिरक्षा पहिचान क्षेत्र भनी तोकेको क्षेत्रसहित अनतर्राष्ट्रिय हवाई क्षेत्रमा नियमित रूपमा उडान गरिरहेको जानकारी दिए।
आरम्भमा जापानी विमानहरूले चीनको नियम पालना गरे पनि टोकियोको दबाबमा बुधबार त्यसो गर्न छोडेको बताइएको छ।
चिनियाँ वायु सेनाका प्रवक्ता सेन जिन्केले यसअघि अमेरिकी तथा जापानी विमानले उक्त हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेकोमा उनीहरूको पहिचान सत्यापन गर्न अनेकौं युद्धक विमान त्यसतर्फ गएको बताउनुभयो।
सेनले दुई युद्धक विमानसहितको चिनियाँ विमानहरूले अमेरिकी दुई गस्ती विमान तथा जापानी एफ–१५ युद्धक विमानका साथै १० जापानी विमान पहिचान भएको बताउनुभयो। अमेरिकी बी–५२ बम्बर विमान उक्त क्षेत्रमा प्रवेश गरेपछि जापान तथा दक्षिण कोरियाले चीनको हवाई प्रतिरक्षा पहिचान क्षेत्रलाई स्वीकार नगर्ने बताएका छन्।
जापानी प्रतिरक्षामन्त्री इत्सुनोरी ओनोदेराले चिनियाँ आमसञ्चारले भनेजस्तै युद्धक विमानहरू त्यहाँ पुगेको तर कुनै घटना नभएको बताउनुभयो।
एएफपी
|