इराकमा जातीय सङ्घर्षमा अठार मृत फेला
बग्दाद, १५ मंसिर। बग्दादको उत्तरी भागमा सैनिक पोशाकमा आएका व्यक्तिहरूले अपहरण गरेका १८ व्यक्तिको शव केही घण्टापछि फेला परेको छ। सरकारी अधिकारीहरूले दुई आदिवासी प्रमुख, चार प्रहरी तथा एक सैनिक मेजरका साथमा १८ व्यक्तिको शव बग्दादको उत्तरी भागमा सुन्नी अरब नगर तारमियामा एक खेतमा फेला पारेको बताएका छन्।
फेला परेका शवमा टाउको तथा छातीमा गोली हानिएको पाइएको छ। अपहरणकारीहरू सैनिक पोशाकमा थिए र उनीहरूले चढेका गाडी पनि सैनिकको जस्तो देखिएको थियो। केही दिन अगाडि पनि अधिकारीहरूले बग्दादको विभिन्न भागमा गोली हानी मारिएका १९ व्यक्तिको शव फेला पारेका थिए। सन् २००३ मा अमेरिकाको नेतृत्वमा इराकमा आक्रमण भएपछि सुन्नी तथा सिया लडाकूहरूले एक अर्को पक्षका व्यक्तिहरूलाई अपहरण गरी मार्ने गरेका थिए। अहिले पनि त्यही सिलसिला जारी रहेको अनुमान गरिएको छ।
इराकमा शुक्रबार अन्य स्थानमा भएको आक्रमणहरूमा चार व्यक्तिको हत्या भएको छ भने पाँच घाइते भएका छन्।
इराकमा शुक्रबारसम्म एक हप्तामा मुलुकभर करिब २ सय व्यक्तिको हत्या भएको छ।
बुधबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले इराकमा भएका हिंसाप्रति भत्र्सना गर्दै रक्तपात रोक्न सरकारको प्रयासलाई सहयोग गर्ने जानकारी दिएको थियो। इराकी प्रधानमन्त्री नुरी अल मलिकीले हालै वासिङटनको भ्रमण गरी गुप्तचरका सूचना आदानप्रदान गर्न तथा लडाकूलाई नियन्त्रण गर्न समयमै नयाँ हतियार उपलब्ध गराइदिन आग्रह गर्नुभएको थियो।
|