एभरेष्ट म्याराथन २०१३ को उपाधि राजभण्डारीलाई
सोलुखुम्बु, १५ मंसिर। चौंरीखर्क–८ लुक्लाका रामकुमार राजभण्डारीले एभरेष्ट म्याराथन २०१३ को उपाधि जित्दै आफ्नै कीर्तिमानी भङ्ग गरेका छन्।
एभरेष्ट म्याराथन २०११ को उपाधिसमेत जितेका श्रेष्ठले यस वर्ष पनि प्रतियोगिता जितेका हुन्। शुक्रबार सम्पन्न गोरक्सेदेखि नाम्चेसम्मको ४२ किमिको दूरी श्रेष्ठले तीन घण्टा ४० मिनेट ४३ सेकेन्डमा पूरा गरेका हुन्। सन् २०११ मा तीन घन्टा ५२ मिनेटमा दूरी पूरा गरेका श्रेष्ठ यस वर्ष १२ मिनेट अगाडि भए।
यस्तै प्रतियोगितामा नेपाली सेनाका भीमबहादुर गुरुङले तीन घण्टा ५४ मिनेट २० सेकेन्डमा र र सोलुखुम्बु सोताङका डिबी कलुङ चार घण्टा ४ मिनेटमा दूरी पूरा गरी क्रमशः दोस्रो र तेस्रो भएका छन्। हरेक वर्ष सहभागी हँुदै आएका गुदेलका सुदीप कुलुङले यस वर्ष चौथो स्थानमा चित्त बुझाएका छन्।
प्रतियोगितामा महिलातर्फ सोलुखुम्बु गुदेलका कविता मुस्कान नाछिरिङले पाँच घण्टा ५९ मिनेटमा दूरी पूरा गरी प्रथम भएकी छन्। यस्तै गुदेलकै अस्मिता नाछिरिङले छ घन्टा ३३ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गरी दोस्रो र बेलायतकी बेथ थम्पसन तेस्रो भएको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई रु. ८० हजार, ५० हजार र रु. ३० हजार तथा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा बेलायत, अस्ट्रिया, अमेरिका, न्युजिल्यान्ड, डेनमार्क, नेदरल्यान्ड्स र नेपालका गरी ५९ धावकले भाग लिएका थिए। हरेक दुई दुई वर्षमा एभरेस्ट म्याराथन बेलायतको आयोजनामा एभरेस्ट म्याराथन प्रतियोगिता आयोजना गरिँदै आएको छ।
लगातार तीन वर्षसम्म म्याराथनको उपाधि जितेमा अन्तर्राष्ट्रियस्तरको दौडमा सहभागी हुने अवसर आयोजक संस्थाले उपलब्ध गराउने व्यवस्था गरेको छ। यसअघि सन् २००५, २००७ र २००९ मा गरी लगातार तीनपटक प्रतियोगिताको उपाधि जितेर जुुम्लाका हरिबहादुर रोकायले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने मौका पाएका थिए।
रासस
|