एड्सविरुद्धका कार्यक्रम अप्रभावकारी
चितवन, १५ मंसिर। एचआईभी/एड्सका कारण हालसम्म चितवनमा ६९ जनाभन्दा बढीको मृत्यु भएको छ।
प्राप्त तथ्याङ्कमा कतिपयको भने सम्पर्कमा नआई मृत्यु भएको अनुमान छ। मृत्यु भएकामध्ये ५० पुरुष, १६ महिला, एक तेस्रो लिङ्गी र एक एक बालबालिका रहेको जिल्ला एड्स समन्वय समितिका संयोजक रामहरि न्यौपानेले बताउनुभयो।
यस वर्ष १३ जनाको र गत वर्ष १७ जनाको मृत्यु भएको छ। पछिल्लो समय एन्टिरेट्टो भाइरल औषधि उपचार सुरु भएपछि मृत्यु हुनेको सङ्ख्यामा केही कमी आएको अनुमान छ। औषधि सुरु गरेलगत्तै कतिपय बिरामीको मृत्युसमेत भएको भरतपुर अस्पतालका डा. उन्नत श्रेष्ठले बताउनुभयो। भरतपुरमा ४८३ जनाले सो औषधि प्रयोग गरिरहेका छन्, जसमा २१९ पुरुष, २२३ महिला, सात तेस्रो लिङ्गी र ३४ बालबालिका छन्।
चितवन जिल्लामा मात्र एक हजार ५०० देखि दुई हजार व्यक्तिमा एचआईभी सङ्क्रमित भएको अनुमान छ। हालसम्म ९८१ जना सङ्क्रमित खुलेर आएका छन्। उनीहरूले सरकारी उपचार सेवा लिइरहेको समितिका संयोजक न्यौपानेले बताउनुभयो।
विशेष गरी असुरक्षित यौन सम्पर्क र असुरक्षितरुपमा सुइद्वारा लागू औषधिको प्रयोगका कारण बढी सङ्क्रमित हुने गरेको पाइएको छ। रोग रोकथामका लागि जिल्लामा १५ गैरसरकारी संस्थाले गत एक वर्षमा रु. दुई करोड ७८ लाख ७७ हजार ९६४ खर्च गरेको भए पनि प्रभावकारी बन्न नसकेको पाइएको छ। रासस |