September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

विरोध प्रदर्शनमा गोली प्रहारः दुईको मृत्यु

बैंकक, थाईल्यान्ड, १६ मंसिर। बैंककमा गत केही दिनयता जारी रहेको सरकारविरोधी उग्र प्रदर्शनमा सरकार समर्थक र प्रदर्शनकारीबीच भएको भिडन्तमा गोली प्रहार हुँदा शनिबार राति दुई जनाको मृत्यु भएको समाचार छ। 

यस भिडन्तमा अन्य दर्जनौं घाईते भएका सरकारी दैनिक दि बैंकक पोस्टले पुष्टि गरेको छ। सो दैनिकका अनुसार सरकारविरोधी एकजना विद्यार्थी र सरकार समर्थक एकजना २३ वर्षीय सुरक्षाकर्मीको शव शनिबार राति अबेर फेला परेको छ। बैंककमा विगतका केही दिनयता भइरहेको सरकारीविरोधी प्रदर्शनमा थप रक्तपात हुनबाट बच्ने र बचाउने भन्दै सरकार समर्थक करिब ७० हजारको लाल पोशाकधारी (रेड शर्ट मूभ्मेन्ट) हरू शनिबार बैंककको स्थानीय राजमङ्गल रङ्गशालामा भेला भई आमसभा गरिरहेका थिए। 

सोही आमसभा बिथोल्न नजिकैको रामखामाएङ्ग विश्वविद्यालयमा पढ्ने सरकार विरोधी केही उग्र छात्रहरूको समूह अन्य प्रदर्शकारीहरूसँगै रङ्गशालाभित्र प्रवेश गर्न खोज्दा त्यहाँ पनि झडप भएको बताइएको छ। 

झडप नियन्त्रण गर्ने कारबाहीको क्रममा प्रहरीले कैंयौं राउण्ड गोली प्रहार गरेका र  सोही क्रममा प्रदर्शकारीहरूले पनि बम विस्फोट गराएका जनाइएको छ।  

गोली र बम प्रहारको घटनाबाट नजिकैको एक सडक पूरै युद्धभूमिमा परिणत भएको बताइएको छ। लाल पोशाकधारीका नेता जातुपोर्न प्रोम्फानले भने रातिको घटनामा आफ्ना पक्षका चारजना र एकजनाविरोधी छात्रको मृत्यु भएको दाबी गरेका छन्। 

थाई प्रहरीले रामखामाएङग विश्वविद्यालयका एकजना २१ वर्षीय छात्रको मृत्यु भएको जनाएको छ। सन् २०१० मा तत्कालीन प्रधानमन्त्री अभिजित भेजाजिबाविरुद्ध लाल पोशाकधारीहरूले  विशाल आन्दोलन (रेड शर्ट मूभ्मेन्ट) सन्चालन गर्दा सयौं प्रदर्शनकारीको मृत्यु भएको थियो।   

यसैक्रममा प्रधानमन्त्री भेजाजिबा अपदस्थ भै पूर्व प्रधानमन्त्री थाक्सिन सिनाबात्राकी बहिनी यिङ्लक सिनाबात्रा जननिर्वाचित प्रधानमन्त्री हुनुभएको थियो। 

थाइल्यान्डको तल्लो सदनमा बहुमत भएको सरकारले हालैमात्र आममाफी दिनेसम्बन्धी कानुन पारित गरेको थियो। सो कानुन पारित भएपछि नै विपक्षीहरू संसद र सडकमा सरकरका विरुद्ध उठेका हुन्। 

सो कानुन प्रधानमन्त्री यिङलकले आफ्ना दाजु एवम् पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्रालाई आममाफी दिई स्वदेश फर्किन पाउनेगरी ल्याएको आरोपमा विपक्षीहरूले आन्दोलन गरेका हुन्।  

गत बिहीबार थाइल्यान्डको प्रतिनिधि सभामा उहाँका विरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा भएको मतदानमा उहाँले संसदमा प्रधानमन्त्रीमाथिको विश्वास हासिल गर्नुभएको थियो।  

प्रमुख प्रतिपक्षी डेमोक्र्याटिक पार्टीले मङ्गलबार नै प्रधानमन्त्री यिङलकविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएको थियो। सो प्रस्तावमा संसदमा दुई दिनसम्म भएको छलफलपछि बिहीबार मतदान भएको थियो। 

प्रधानमन्त्री सिनावात्राले आन्दोलन स्थगित गरेर वार्तामा आउन आह्वान गर्दै आन्दोलनबाट कुनै उपलब्धि नहुने र यसले देशको अर्थतन्त्रमा नै असर पार्नसक्नेतर्फ सबैको ध्यानाकर्षण गराउनुभएको थियो।                 सिन्ह्वा