इराकमा अन्त्येष्टिमा समेत बम आक्रमण: बार्हको मृत्यु
बाक्युबा (इराक), १६ मङ्सिर। इराकको राजधानी बग्दादको उत्तरी भागमा पर्ने बाक्युवामा एक आदिवासी नेताका छोराको अन्त्येष्टी भइरहेको स्थानमा भएको बम विस्फोटबाट कम्तीमा बार्हको जनाको मृत्यु भएको छ।
यस बम आक्रमणमा अन्य २५ व्यक्ति घाइते भएका सरकारी अधिकारीहरूले जनाएका छन्। सडक किनारमा राखिएको एक बम विस्फोटबाट मारिएका ती नेताका छोरा मुधेर अल सल्लाल आराकीको अन्त्येष्टीमा सो विस्फोट गराइएको बताइएको छ।
गत महिनामा मात्र इराकमा भएको विभिन्न हिंसामा मारिएका व्यक्तिको सङ्ख्या ४०० भन्दा बढी भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।
यसका अतिरिक्त अन्य आक्रमणका घटनाहरूको भने लेखाजोखा नभएको पनि अधिकारीहरूको भनाइ छ। इराकमा केही वर्षयता हिंसा बढेको जनाइएको छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार इराकमा गत जनवरीदेखि अक्टोबरसम्म भएका विभिन्न हिंसा र हत्यामा कम्तीमा सात हजार व्यक्तिको मृत्यु भएको छ।
त्यसैगरी यस्ता आक्रमणहरूबाट १६ हजार भन्दा बढी व्यक्ति घाइते भएका छन्। इराकमा सिया र सुन्नी मुसलमान समुदायका बीचको विवादका कारण यस्ता हत्या हिंसा धेरै मात्रामा हुने गरेका छन्। एएफपी
|