थाइल्यान्डको विरोध प्रदर्शन हिंसात्मक बन्दै
बैंकक, १७ मंसिर। थाइल्यान्डका विपक्षीहरूले विगतका हप्ताहरूदेखि जारी राखेको विरोध प्रदर्शन सोमबार हिंसात्मक बनेको समाचार छ।
उनीहरूले यसअघिका तुलनामा आजको प्रदर्शनमा प्रहरी विरुद्ध नै जाइलागेको बताइएको छ। जसका कारण राजधानी बैंककमा सोमबार बिहानैदेखि तनावपूर्ण अवस्था उत्पन्न भएको पनि समाचारमा उल्लेख छ।
आइतबार पनि विपक्षी दलहरूले थाइल्यान्डको राजधानी बैंककमा रहेका सरकारी कार्यालयहरूमा विरोध गरेका थिए। हजारौंको सङ्ख्यामा रहेका उनीहरूले ती सरकारी कार्यालयमा घेरा हाली सरकारविरोधी नाराबाजी गरेका थिए।
सोमबार बिहान विपक्षी दलहरूको विरोध प्रदर्शन थप हिंसात्मक बन्दा त्यहाँ रहेका विद्यालय विश्वविद्यालयहरू पनि बन्द रहेका बंैककमा रहेका एएफपी समाचार समितिका प्रतिनिधिले जनाएका छन्।
उनका अनुसार प्रदर्शनकारीहरूले प्रहरीमाथि नै जाइलाग्न थालेपछि प्रहरीले पनि बिहानैदेखि कयौं स्थानमा टियर ग्यास हान्नुका साथै प्रदर्शनकारीमाथि बल प्रयोग गरेको छ।
तर घाइते वा हताहतिको समाचार भने आएको छैन। तर विगतको तुलनामा आजको प्रदर्शन थप हिंसा उन्मुख बन्न पुगेको अधिकारीहरूले जनाएका छन्।
प्रधानमन्त्री यिङ्लक सिनावात्राका विरुद्धमा जारी सो आन्दोलनका क्रममा उनीहरूले आइतबार मात्र प्रधानमन्त्रीलाई चाँडै राजिनामा गर्न अल्टिमेटम दिएका छन्।
सिन्ह्वा
|