September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

मजदुरीका लागि भारततर्फ लाग्नेको पश्चिमी सीमामा लर्को

कञ्चनपुर, १७ मंसिर। पश्चिमी सीमा नाका गड्डा चौकी भएर भारतमा मजदुरीका लागि जानेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। संविधानसभाको निर्वाचनमा मत खसाल्ने र गहुँ छर्ने कार्य सकेपछि भारतमा कामको खोजीमा जानेहरूको सङ्ख्यामा एकाएक वृद्धि भएको हो। 

तीन दिनयतादेखि दैनिक ८०० देखि एक हजारको सङ्ख्यामा मजदुरी खोज्ने नेपालीहरू भारततर्फ लाग्न थालेको इलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रहरी नायब निरीक्षक धर्मराज अवस्थीले बताउनुभयो। 

संविधानसभाको निर्वाचन सम्पन्न भएपछि ११ हजारभन्दा बढी नेपाली मजदुरीका लागि भारततर्फ गइसकेको उहाँले बताउनुभयो।  

सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, डोटी, बाजुरा, अछाम, बझाङ, कैलाली, कञ्चनपुर र मध्यपश्चिमका कालीकोट, बाँके, बर्दिया, जुम्ला, हुम्लालगायत क्षेत्रका बासिन्दा मजदुरीका लागि बढी यस नाका भएर भारततर्फ जाने गर्दै आएका छन्। 

खेतीले तीन महिनासम्म खानका लागि नधान्ने भएकोले छ महिना भारतमा मजदुरी गरेर परिवार पाल्नुपरेको गड्डा चौकीमा भेटिएका डोटीका पदम दमाईले बताउनुभयो। 

परिवारसहित भारततर्फ जान लागेका उहाँले घरमा भएको खेतमा जति काम गरे पनि खान नपुग्ने भएकोले भारतमा मजदुरी गरेर परिवार पाल्नुको विकल्प नभएको बताउनुभयो।  

सडक मर्मत, विद्युत्का पोल गाड्ने, भारी बोक्ने, चौकीदारको रूपमा र कारखानाहरूमा मजदुरका रूपमा भारततर्फ जाने बासिन्दाले कार्य गर्दै आएका छन्। धान रोपेपछि र गहुँ छरेपछि यहाँका बासिन्दा गाउानै खाली गरेर भारतमा मजदुरीका लागि जाने कार्य गर्दै आएका छन्। 

भारतमा मजदुरी गर्दा मासिक रूपमा पाँच हजार जति कमाई हुने गरेको बर्दियाको भुरिगाउँका कालुराम चौधरीले बताउनुभयो। मंसिरदेखि चैत महिनासम्म मजदुरी गरेर कमाएको पैसाले घरमा रहेका बालबालिकाको विद्यालयको खर्च, लुगाकपडा र घरायसी खर्च चलाउँदै आएको उहाँले बताउनुभयो। 

खेतमा फलाएको अन्नले तीन महिनासमेत खान नपुग्ने भएकोले बाध्यताले भारतको मुख ताक्नुपर्ने उहाँको भनाइ रहेको छ। भारतका कुमाउ, गढवाल, आसाम, हिमाञ्चल, दिल्ली, बम्बै, मद्रास, बैङ्गलोरलगायतका क्षेत्रमा यहाँका नेपाली जाने गरेका छन्।  

धेरै नेपाली मजदुरले विद्युत्गृह र पानीका बाँध बनाउने कार्यमा जोखिम मोल्दै कार्यसमेत गर्ने गरेका छन्। 

स्वदेशमै रोजगारी गर्नका लागि व्यवस्था भए विदेशीको भरमा बाच्नु नपर्ने बर्दियाकै सीताराम चौधरीले भन्नुभयो, “अब बन्ने नयाँ संविधानमा गरिबका मुद्दालाई समावेश गराउनेलाई मत हालेर जिताएका छौं, हामीले अपेक्षा गरेको कार्य गर्छन् गर्दैनन्।” भारतमा मजदुरी गर्नेहरूको एउटै मत छ स्वदेशमै रोजगारीका लागि व्यवस्था गरियोस्।                 रासस