September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

धाँधलीको आरोपपछि होन्डुरसमा पुनः मतगणना

तेगुसिगाल्पा, १८ मंसिर। होन्डुरसमा गत २४ नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा प्राप्त मतगणना पुनः गणना हुने भएको छ। 

चुनावमा धाँधली भएको भनि विपक्षीहरूले लगाएको चर्को दबाबका कारण पुनः मतगणना हुने भएको  जनाइएको छ। 

स्थानीय सञ्चारमाध्यम ला प्रेन्साको वेबसाइटले जनाएअनुसार  होन्डुरसको वामपन्थी विपक्षी उम्मेदवार जिओमारा क्यास्ट्रोको अनुरोधलाई स्वीर्कादै मुलुकका निर्वाचन उच्च अदालत (टिएसई) का प्रमुख डेभिड मातामोरोसले खसेका सबै मतपत्र जाँच गरी पुनः मत गणना  गरिने निर्णय गर्नुभएको हो।  

गत शनिबार हाल सत्तारुढ कन्जरवेटिभ पार्टीका उम्मेदवार जुआँ ओल्यान्डो हेर्नान्डेजले कूल ३६.८ प्रतिशत मत हासिल गरी विजय हुनुभएको र दोस्रो स्थानमा लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका जिओमारा क्यास्ट्रोले २८.८ प्रतिशत मत प्राप्त गरी दोस्रोस्थान रहेको औपचारिक घोषणा गरिएको थियो। 

घोषणाको लगत्तैपछि निर्वाचनमा धाँधली भएको, जनताको भावना कदर नगरिएको,  निर्वाचनमा सुरक्षा र संवेदनशीलता नअपनाइएको भनी पुनः मतगणनाको माग गर्दै क्यास्ट्रोको उजुरी परेको थियो। चुनाव सकिएकै राती दुवै उम्मेदवारले आफू जितेको घोषणा गरेका थिए। 

नोभेम्बर २५ का दिनसम्म मतगणना जारी हुँदा खसेका कूल मतमध्ये ७० प्रतिशत गणना भइसकेको र हेर्नान्डेज अग्रपङ्तिमा रहनुभएको थियो। सो मतगणना आम रुपमा शङ्कास्पद रहेको टिप्पणी गरिएको थियो। 

निर्वाचन र मतगणनासम्बन्धी सूचना प्रर्वाह गरिने सरकारी टिएसई वेबसाइटलाई कुनै अज्ञात व्यक्तिले गत सोमबार ह्याकिङ्ग गरी भद्रगोल सूचना प्रवाह गरेको र मत परिणाम अस्वीकार गर्न र शान्तिपूर्ण विरोध प्रदर्शनमा भागलिन होन्डुरसका जनतालाई आह्वान गरिएको थियो।  

सिन्ह्वा