September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

मोरङमा ३० प्रतिशत जनता अझै निरक्षर

विराटनगर, १८ मंसिर। जिल्ला शिक्षा कार्यालय मोरङले यस वर्ष मोरङका ३० प्रतिशत जनतालाई  साक्षर बनाउनेे अभियान सुरु गरेको छ। 

निरक्षर हटाउन सुरु गरिएको साक्षरता अभियानअन्तर्गत यस वर्ष मोरङ जिल्लामा कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला शिक्षा कार्यालय मोरङका उपसचिव टङ्क गौतमले जानकारी दिनुभयो। 

गत वर्ष नौ वटा गाविसमा साक्षरता अभियान सञ्चालन गरेकामा प्रभावकारी नभएको सरोकारवालाले आवाज उठाएका थिए। आव २०७०/७१ को वार्षिक कार्यक्रम कार्यान्वयनसम्बन्धी सरोकारवालाका लागि मङ्गलबार आयोजित एकदिने अभिमुखीकरण गोष्ठीमा उक्त जानकारी दिइएको हो।  

मोरङ जिल्लामा हालसम्म ३० प्रतिशत जनता निरक्षर रहेकाले सबैलाई साक्षर बनाउनका लागि अभियानको रुपमा कार्यक्रम सञ्चालन गरिएको उपसचिव गौतमले बताउनुभयो।   

यस वर्ष साक्षरता अभियान प्रभावकारी रुपमा सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालयका उपसचिव फणीन्द्र खत्रीले जानकारी दिनुभयो। कार्यालयका अनुसार यस वर्ष बरडङगा, शनिश्चरे, बेलबारी, दर्वेशा, बुधनगर, भौडाहा, हात्तीमुडा, सुन्दरपुर र  उर्लाबारी  गरी नौ वटा गाविसमा साक्षरता अभियान सञ्चालन गरिने छ। 

यो वर्ष मोरङ जिल्लाका विभिन्न विद्यालयको भौतिक पूर्वाधार निर्माणअन्तर्गत १५८ वटा कक्षा कोठा निर्माण गर्न लागिएको छ भने गत वर्ष १९ वटा कोठा निर्माण गरिएको सोही अवसरमा जानकारी दिइयो।                 रासस