बाँसुरी बाजाको प्रशिक्षण सुरु
भक्तपुर, १८ मंसिर। सत्संग पुस्तकालयको आयोजना तथा आस्था साकोस र आस्था साअकेको सहआयोजनामा 'आधुनिक बाँसुरी बाजा प्रशिक्षण'को एक कार्यक्रमबीच नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष रविन्द्र खर्बुजाले प्रशिक्षकलाई बाँसुरी हस्तान्तरण गरी उद्घाटन गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि खर्बुजाले आधुनिकताका नाममा युवा पुस्ता विभिन्न विकृतिहरूमा फसेकोमा चिन्ता व्यक्त गर्दै युवाहरूले सिर्जनशील गतिविधिहरूमार्फत् क्षमता विकास गरी देशकै नेतृत्व गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। अर्का वक्ता पुस्तकालयका संरक्षक जीवन सुवालले समाज मानिसको सुख–दुःखको साथी समाजको निरन्तर चिन्तन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो भने सङ्गीतकार कपिल सुजखूले परम्परागत बाजा र धुनहरूलाई आधुनिक शैलीबाट लिपिवद्ध गरी शैक्षिक कोर्शका रुपमा विकास गर्न सकेमात्र पुराना संस्कृतिको जर्गेर्ना हुने स्पष्ट गर्नुभयो। सत्संग पुस्तकालयका अध्यक्ष चन्द्र प्रजापतिको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बासुरी प्रशिक्षक रवि कपाली, सत्सँग पुस्तकालयका कृष्णराम सैंजू, उज्वल सायजू र विनोद सुजखूले पनि बोल्नुभएको थियो।
|