बेलायतमा एकदिने शैक्षिक हड्ताल
लण्डन, १९ मंसिर। हजारौं प्राज्ञिक व्यक्तित्व र सहयोगी कर्मचारीहरूले कम ज्यालाविरुद्ध राष्ट्रव्यापी एकदिने हड्ताल गरी सडकमा उत्रेका छन्। देशव्यापी रुपमा भएका प्रदर्शनमा नेतृत्वदायी विश्वविद्यालयका शैक्षिक मजदुर सामेल थिए।
सरकार र शैक्षिक जनशक्ति सम्बन्धी सङ्घहरूबीच लामो समयदेखिको वार्ता असफल भएपछि उक्त हड्ताल तथा देशव्यापी प्रदर्शन भएको हो।
उक्त हड्ताल एवम् प्रदर्शन युनाइट, द युनिसन, विश्वविद्यालय तथा कलेज सङ्घ–यूसीयू र स्कटल्याण्ड शैक्षिक प्रतिष्ठान–ईआईएसलगायत कयौं शैक्षिक जनशक्तिसम्बन्धी सङ्घ सङ्गठनले आयोजना गरेको थियो।
ती सङ्घ–सङ्गठनले १३ प्रतिशत तलब – ज्याला वृद्धिको माग गरेकोमा विश्वविद्याललय र कलेजहरूले १ प्रतिशतमात्र वृद्धि गर्ने प्रस्ताव गरेका थिए।
युनिसनका महासचिव डेभ प्रेन्टिसले अहिलेको तलबले उच्च शिक्षाका मजदुरहरूले अपेक्षा गरेजस्तो स्तर कायम गर्न नसक्ने बताउँदै राम्रो जीवनस्तरका निम्ति तलब ज्यालामा वृद्धि गर्नुको विकल्प नभएको बताए।
उच्च शिक्षाका कामदारहरू थोपरिको १ प्रतिशत ज्याला वृद्धिको निर्णयको ऊर्जा, कोठाभाडा र अत्यावश्यक वस्तुको चर्काे मूल्य तिरिरहेका ती कामदारहरूको समस्या समाधान हुँदैन– प्रेन्टिसले भने।
विश्वविद्यालय र कलेजका कर्मचारी र शिक्षकहरूले यसअघि पनि अक्टोवर ३१ का दिन काम बन्द गरी हड्तालमा ओर्लेका थिए। हड्ताल र प्रदर्शनका कारण कयौं विश्वविद्यालय र कलेजका कक्षाहरू स्थगन र ठप्प भएका थिए।
प्रेस टीभी
|