विश्वव्यापी शिक्षा सर्वेक्षणमा एसियाको उच्च स्थान
पेरिस, १९ मंसिर। विश्वव्यापी शिक्षाको अवस्थाका विषयमा मङ्गलबार प्रकाशित नयाँ प्रतिवेदनमा एसियाली मुलुकका विद्यार्थीले पश्चिमी मुलुकका समकक्षीको तुलनामा गणित, विज्ञान तथा पढाइमा उछिनेकाले उच्च स्थान प्राप्त गरेको उल्लेख गरिएको छ।
यस प्रतिवेदनमा साङ्घाइले पुनः गणित, विज्ञान तथा पठनमा सबैभन्दा उच्च स्थान प्राप्त गरेको छ। पेरिसमा केन्द्रीय कार्यालय ओइसीडीले प्रत्येक तीन वर्षमा यस्तो प्रतिवेदन प्रकाशन गर्ने गरेको छ। यसका लागि ६५ मुलुकका १५ वर्षका करिब पाँच लाख विद्यार्थीमा सर्वेक्षण गरिएको छ।
सिङ्गापुर, हङकङ, ताइवान तथा दक्षिण कोरिया गणितमा पाँच उच्च स्थान प्राप्त गर्ने स्थान बनेका छन्। यसलाई पिसा (प्रोग्राम फर इन्टरनेसनल स्टुडेन्ट एसेसमेन्ट) प्रतिवेदन पनि भनिन्छ। यो विश्वका विद्यालयहरूमा गरिने सबैभन्दा ठूलो अध्ययन हो र यसलाई शिक्षाको क्षेत्रमा विश्वकपको रूपमा लिइन्छ।
यसमा भाग लिने मुलुकको हिसावले यस अध्ययनले विश्वको ८० प्रतिशत अर्थतन्त्र ओगट्ने गर्छ। साङघाइको उच्च स्थानले बेलायत तथा फ्रान्सको विद्यालयलाई उछिनेको देखिएको छ। ओइसीडीले साङघाइले चीनको सबै क्षेत्रलाई प्रतिनिधित्व गर्न नसक्ने स्वीकार गरेको छ। एएफपी
|