गहुँको बीउ वितरणमा समस्या
रौतहट, २० मंसिर। जिल्ला कृषि विकास कार्यालय रौतहटद्वारा किसानलाई अनुदानको उन्नत जातको गहुँको बीउ वितरणमा समस्या भएको छ।
जिल्लाका २७ वटा डिलरले अनुदानको उन्नत जातका बीउ अनियमित तरिकाले वितरण गरेपछि समस्या भएको हो। जिल्लामा एक हजार ८०० मेटि्रक टन गहँुको बीउ आवश्यकता रहेको अवस्थामा २६० मेटि्रक टन बीउमात्र जिल्लाका डिलरमा आएपछि थप समस्या भएको हो। डिलरले तोकिएकोभन्दा बढी रकम लिएको गुनासो बढेपछि जिल्ला कृषि विकास कार्यालयले वितरण गर्ने कार्य गरेको थियो।
कार्यालयका कर्मचारीले रकम लिई कुपन बिक्री गर्न थालेपछि झन् समस्या भएको कार्यालयका कर्मचारी स्रोतद्वारा थाहा भएको छ। ३५ प्रतिशत अनुदान भएकाले गहँुको बीउ वितरणमा चलखेल भएको बताइन्छ। रौतहटमा विभिन्न डिलरबाट किसानलाई उन्नत जातको गहँुको बीउ वितरण भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजनारायण यादवले दाबी गर्नुभयो।
अहिले उन्नत जातको गहुँको बीउतर्फ किसानको आकर्षण बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। कुपन भए पनि बीउ नपाएका किसानले नाराबाजी गर्दै विरोध जनाएका छन्। करिब एक हजार ३०० कुपन किसानको हातमा रहेको अनुमान गरिएको छ। अधिकांश कुपनमा सहीसमेत छैन। कर्मचारीलाई गालीगलौज गरेपछि बिनासहीको कुपन वितरण गरिएको हो। रासस
|