पूर्वयोजना तर्जुमा गोष्ठी अवरुद्ध
जुम्ला, २० मंसिर। जिल्ला विकास समिति जुम्लाले आर्थिक वर्ष ०७१/७२ का लागि आयोजना गरेको पूर्वयोजना तर्जुमा गोष्ठी दलीय असहमतिका कारण अवरुद्ध भएको छ। जुम्लाका राजनीतिक दलहरूले यो वर्ष जुम्ला न्यूनतम सर्त मापनमा फेल हुनु, जिल्लाको विकासका लागि स्वयम् कार्यालय प्रमुख तथा कर्मचारीबाट पारदर्शी आर्थिक परिचालन नहुनु र दलहरूलाई वास्ता नगरिनुको कारण यसको सही तथा यथोचित निकास नआउञ्जेलसम्म गोष्ठी आयोजना नगर्न दबाब दिएका छन्। राजनीतिक दलहरूको भेलाले नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति जुम्लाका सचिव दयादत्त हमालको संयोजकत्वमा सर्वदलीय सङ्घर्ष समिति गठन गरेको छ।
यता स्थानीय विकास अधिकारी अर्जुनकुमार थापाले स्थानीय निर्वाचन नभएका कारण यी समस्या आएको औंल्याउँदै आफूले जहिले पनि दलहरूलाई साथमा लिएर काम गर्दै आएको बताउनुभयो। त्यसैगरी जिविस जुम्लाका कार्यक्रम अधिकृत क्षेत्रबहादुर बुडथापाले ३० वटै गाविसमा पाँचवर्षे आवधिक योजना तयार भइसकेको बताउनुभयो। स्थानीय विकास अधिकारी थापाले पूर्वयोजना तर्जुमा गोष्ठी गरी पुस मसान्तसम्म जिल्लाका ३० वटै गाविसको गाउँ परिषद्, माघसम्म इलाका परिषद् र फागुन मसान्तसम्म जिल्ला परिषद् सम्पन्न गर्ने उद्देश्यका साथ कार्ययोजना तयार गरिएको बताउँदै दलीय असहमतिका कारण गोष्ठी कहिले गर्ने भन्नेमा अन्योल सृजना भएको जानकारी दिनुभयो। आगामी दिनमा दलहरूको समन्वयबाट काम गर्ने अधिकारी थापाको भनाइ छ। रासस
|