September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

मौरीपालक कृषकको सङ्ख्या घट्दै

चितवन, २० मंसिर। चितवनमा मौरीपालक कृषकको सङ्ख्या घट्दै गएको छ। नेपाल मौरीपालक महासङ्घ चितवनको तथ्याङ्कअनुसार अहिले चितवनमा २५० जना व्यावसायिक मौरीपालक कृषक रहेका छन्। २०६३ सालमा यसको सङ्ख्या ४५० रहेको थियो।  

व्यावसायिक मौरीपालक कृषकको सङ्ख्या घट्दै गएपछि  महको मागअनुसार उत्पादन गर्न नसकिएको नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष धु्रवतारा लामिछानेले बताउनुभयो। चितवनमा यस वर्ष ५०० मेटि्रक टन मह उत्पादन गर्ने महासङ्घले लक्ष्य लिएको छ। विगतका वर्षहरूमा चितवनमा ८५० मेटि्रक टनको हाराहारीमा मह उत्पादन हुँदै आएको थियो। 

कृषकले उत्पादन गरेको महलाई प्रशोधन गरेर बजारसम्म पुर्‍याउन नसक्दा सस्तो मूल्यमा नै  व्यापारीलाई मह बिक्री गर्नुपर्ने अवस्था रहेको महासङ्घका केन्द्रीय सदस्य वासु ढकालले बताउनुभयो।  

चितवनमा सातवटा सहकारी संस्थाले पनि व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन्। सूर्यमुखी मौरीपालन सहकारी संस्था चैनपुर, मिलीजुली मौरीपालन सहकारी संस्था पदमपुर, नमुना मौरीपालन सहकारी संस्था पिठुवा, हिमाल मौरीपालन सहकारी संस्था पिठुवा, प्रगतिशील मौरीपालन सहकारी संस्था शुक्रनगर, कालाबञ्जार मौरीपालन सहकारी संस्था दिव्यनगर र सिर्जनशील मौरीपालन सहकारी संस्था शुक्रनगरले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन्।  

मौरीलाई चरन गर्ने ठाउँको अभाव, फलफूल तथा खेतबारीमा विषादीको प्रयोग बढी हुनु र मौरीलाई चरन गर्न बाहिरी जिल्लामा लैजाँदा ढुवानी खर्च बढी हुनुले पनि मौरीपालनतर्फ कृषक आकर्षित हुन सकेका छैनन्। चितवनमा शक्तिखोर, चैनपुर, पदमपुर, जुटपानी, मेघौली र दिव्यनगर गाविसमा बढी मात्रामा मौरीपालन हँुदै आएको छ।            रासस