September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

डेङ्गु रोग परीक्षण गर्ने कीटको अभाव

चितवन, २० मंसिर। डेङ्गु रोगका बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेका बेला चितवनमा रोग परीक्षण गर्ने किटको अभाव भएपछि समस्या उत्पन्न भएको छ।   

डेङ्गु रोगको परीक्षण गर्दै आएको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा किटको अभाव देखिएको हो। विगत एक सातादेखि किट सकिँदा डेङ्गु परीक्षणको काम रोकिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो। 

चितवनमा अहिलेसम्म एक हजार ६९१ जनाको रगत परीक्षण गरिएकामा ३१२ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको केसीले बताउनुभयो। डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाका कार्यकारी निर्देशकसहितको टोलीले चितवनको वस्तुस्थितिबारे अनुगमन गरेको थियो।  

किटका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पत्राचार गरिएको केसीले जानकारी दिनुभयो। चालु आर्थिक वर्षको साउनमा ७, भदौमा २०, असोजमा ५२, कार्तिकमा १७० र मङ्सिर १६ गतेसम्म ६३ जनामा डेङ्गु भेटिएको छ। गत आर्थिक वर्षमा ९४६ जनाको रगत परीक्षण गरिएकामा ५२ जनामा मात्र डेङ्गुको सङ्क्रमण भेटिएको थियो।  

प्रत्येक तीन/तीन वर्षमा डेङ्गुले महामारीको रुप लिने र यस वर्ष मौसम पनि डेङ्गुको प्रकोपका लागि अनुकूल भएकाले महामारीका रूपमा फैलिएको केसीले बताउनुभयो। यसअघि सन् २०१० मा पनि चितवनमा डेङ्गुले महामारीको रुप लिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।             रासस