प्रहरी चौकीमा आक्रमण एक प्रहरीको हत्या
पेसावर (पाकिस्तान), २० मंसिर। पाकिस्तानको उत्तरपश्चिम भागमा अवस्थित एक प्रहरी चौकीमा बुधबार राति भएको आक्रमणमा एक प्रहरीको मृत्यु भएको समाचार छ। सो आक्रमणमा अन्य एक प्रहरी घाइते भएको पनि अधिकारीहरूले बिहीबार जनाएका छन्।
उक्त आक्रमण खैबर पाख्तुनन्ख्वा प्रान्तको बन्नु सहरको बाहिरी इलाकामा अवस्थित एक क्षेत्रमा भएको अधिकारीहरूले प्रस्ट पारेका छन्। सो प्रान्तमा यसअघि पनि धेरै पटक आतङ्ककारी आक्रमण भएका छन्।
बुधबार अबेर राति पाँचभन्दा बढी सङ्ख्यामा मोटरसाइकलहरूमा आएका आतङ्ककारीको एक समूहले प्रहरी चौकीमा हाते ग्रिनेडहरू फालेको जनाइएको छ।
त्यसपछि चौकीभित्र गोली प्रहार गर्दा एक प्रहरीको मृत्यु हुनाका साथै अर्का एक प्रहरी घाइते भएको स्थानीय प्रहरी अधिकारी नुरी वालीले बताउनुभएको छ।
उक्त घटनाको वरिष्ठ प्रहरी अधिकारी इक्वाल खानले पनि पुष्टि गर्नुभएको छ।
पाकिस्तानमा अलकायदा आतङ्ककारी र पाकिस्तानी तालिवानीले जारी राखेको द्वन्द्वसँग आबद्ध हिंसा र हत्यामा सन् २००७ देखि हालसम्म्ा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ।
एएफपी
|