September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

कुखुरा व्यवसाय सुधारको बाटोमा

चितवन, २२ मंसिर। विगत दुई वर्षसम्म बर्डफ्लु रोगको कारण चरम सङ्कटमा पुगेको कुखुरा व्यवसाय अहिले सुधारको बाटोमा आएको छ। कुखुराजन्य पदार्थको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ भने कृषकले लगानी गरेअनुसारको मूल्य पाइरहेको व्यवसायीहरू बताउँछन्।  

नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष चन्द्रमान श्रेष्ठले पछिल्लो समयमा पोल्ट्री व्यवसायमा सुधार आएको बताउनुभयो। बर्डफ्लुका कारण समस्यामा परेका व्यवसायीले अहिले केही राहतको अनुभव गरेको श्रेष्ठको भनाइ छ।  

नेपालभरमा ५० अर्ब रूपैयाँभन्दा बढी कुखुराको क्षेत्रमा लगानी गरिएकोमा चितवनमा 

मात्र २५ अर्ब रूपैयाँभन्दा बढी लगानी भएको व्यवसायीहरूले बताएका छन्। चितवनमा मात्र ५०० परिवार कुखुरापालन व्यवसायमा आबद्ध रहेका छन्। नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्ष ऋषिराम पौडेलले बर्डफ्लु लागेको हल्ला चलेको समयमा १० रूपैयाँ प्रतिगोटा नबिकेको चल्ला अहिले प्रतिगोटा ७० रूपैयाँमा बिक्री भइरहेको बताउनुभयो। 

कृषकको लागत प्रतिचल्ला ५५ रूपैयाँ पर्ने बताउँदै पौडेलले अहिलेको बिक्रीले सन्तोषजनक अवस्था रहेको बताउनुभयो। बर्डफ्लु आउनुभन्दा अगाडि सात लाख चल्ला बिक्री हँुद ैआएकोमा अहिले पाँच लाख चल्ला बिक्री भएको पौडेलको भनाइ छ। अवस्था सुधार भएकोले केही दिन भित्रमै पुरानै अवस्थामा चल्ला बिक्री हुने क्रम बढ्ने देखिन्छ। 

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसी अहिले अण्डा बिक्रीबाट कृषकले आफ्नो लागत मूल्य उठाउन सक्ने अवस्था रहेको बताउनुहुन्छ। “केही समयअगाडिसम्म चाहेर पनि उत्पादन बढाउन सक्ने अवस्था थिएन तर अहिले भने धेरै सुधार आएको छ”– केसीले भन्नुभयो–“मागअनुसारको अण्डा उत्पादन गर्न अझै सकिएको छैन।”  

केसीका अनुसार दुई वर्ष अगाडिसम्म दैनिक १२ हजार पेटीसम्म उत्पादन हुँदै आएको थियो तर अहिले दैनिक पाँच हजार पेटी अण्डा उत्पादन भइरहेको छ। 

खुला सीमा भएका कारण खुलेआम रूपमा भारतीय चल्ला नेपाल आइरहेको कारण समस्या आउन सक्ने व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। विनापरीक्षण भारतीय चल्ला भित्रिरहेका कारण जोखिम बढ्दै गएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने अण्डा उत्पादक सङ्घका महासचिव त्रिलोचन कँडेलले बताउनुभयो।