September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

ज्येष्ठ नागरिकलाई सम्मान वृद्धाश्रमसहित अस्पताल निर्माण

 

भक्तपुर, २२ मंसिर। भक्तपुरको वागेश्वरीस्थित उत्तरकाशी मनिकर्णिका धाममा पाँचसय जना ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई सम्मान गरिएको छ।  

धाममा शनिबार आयोजित एक कार्यक्रममा धामका प्रमुख गुरू नागाबाबा कल्याण पुरीले उनीहरूलाई सम्मान गर्नुभएको हो। सो अवसरमा वागेश्वरी, नगरकोट, सुडाल र छालिङका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्ग तथा एकल महिला सम्मानित भएका थिए। 

खोलाको किनारमा घाटका रूपमा रहेको यो स्थानमा २०४५ सालमा काशीबाट आएका नागाबाबा कल्याण पुरीले कुटी बनाई निर्माण गरेको मनिकर्णिका धाममा वृद्धाश्रमसहित अस्पताल निर्माण गरिने भएको छ।  

पुरीले यसबारेमा जानकारी दिँदै वृद्धाश्रम निर्माणका लागि यहाँ सञ्चालन गरिएको महायज्ञ र विभिन्न दाताबाट आएको करिब रू. १५ लाख सङ्कलन भइसकेको बताउनुभयो। पुरीले भन्नुभयो, “धाममा लगाइएको महायज्ञ, पुराण र दाताबाट सङ्कलित रकमबाट एउटा वृद्धाश्रम र सानो अस्पताल निर्माण गरिने भएको छ, यसका लागि गुरूयोजना निर्माण कार्य भइसकेको छ, अब वृद्धाश्रम र अस्पताल निर्माणसँगै निर्माण सुरू गर्ने भएका छौं।” यसका लागि आवश्यक रकम सङ्कलन भइरहेको र रकम दिन थप दाता पनि इच्छुक रहेकोले अब तत्कालै काम सुरू गरिने छ।  

वृद्धाश्रम र अस्पताल निर्माणका लागि स्थानीय महिलालाई नेतृत्व दिएर व्यवस्थापन समिति गठन गरिएको छ भने स्थानीय पुरूषले सबै काममा सहकार्य गर्ने भएका छन्। कुल ३८ रोपनी क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा दुईवटा पक्की कुटी भवन, महादेव मन्दिर, ६४ शिवलिङ्ग र अन्य विभिन्न मन्दिर निर्माण भई दैनिक पूजा, हवन, प्रवचन र पुराण पाठ गरिँदै आएको छ।  

अहिलेसम्म यहाँ ४६ वटा श्रीमद् भागवत, १८ वटा महापुराण, चतुर्वेद महायज्ञ र धर्मध्वजारोहण सम्पन्न गरिसकेको जानकारी दिँदै पुरीले यहाँको घाटमा दाहसंस्कार गर्नेलाई निःशुल्क दाउराको व्यवस्था गर्दै आएको बताउनुभयो। यहाँ शव जलाउन दुईवटा पक्की घाट र दशनामी एवम् सन्यासीको शव समाधिस्थ गर्न छुट्टै समाधिस्थलको व्यवस्था गरिएको छ।  

वृद्धाश्रमको हकमा भने तीन तलाको २४ वटा कोठा रहने गरी सुविधायुक्त वृद्धाश्रम सञ्चालन गरिने र यहाँ बस्ने वृद्धवृद्धासँग कुनै शुःल्क नलिइने पुरीको भनाइ छ। वृद्धाश्रममा ६० जनासम्म असहाय वृद्धवृद्धा राख्न सकिने जनाउँदै उहाँले भवन नबन्दै एकजना वृद्धा राखिएको बताउनुभयो। बिहान बेलुका दुई/दुई घण्टा सञ्चालन गरिने अस्पतालमा काम गर्न स्थानीय चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मीले सहमति जनाइसकेको पुरीको भनाइ छ।