September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

इरान कूटनीतिपछाडि सैनिक शक्ति रहने: अमेरिका

मानामा, २२ मंसिर। तेहरानसँग पारमाणविक सम्झौताबाट आशङ्कित भएका खाडीका सहयोगीलाई सम्बोधन गर्दै अमेरिकी प्रतिरक्षामन्त्री चक ह्यागेलले शनिबार इरानसँगको कूटनीतिको पछाडि अमेरिकी सैनिक बल हुनुपर्ने बताएका छन्।  

उनले तेहरानसँग हालै भएको सम्झौतापछि पनि अमेरिकाले खाडीक्षेत्रमा ३५ हजार सैनिक, सशस्त्र जहाज तथा युद्धकविमान कायम राख्ने बताए।  

बहराइनमा एक सुरक्षा सम्मेलनमा उनले इरानसँग भएको अन्तरिम सम्झौताको उद्देश्य इरानलाई उसको पारमाणविक कार्यक्रमबाट फर्काउनु रहेको बताए।  

उनले पश्चिमी कूटनीतिको गलत अर्थ लगाइनुनहुने बताउँदै यो जोखिम लिनु उचित रहेको दाबी गरे।  

उनले इरानसँग सम्झौताको नतिजाको रूपमा पेन्टागनले यस क्षेत्रमा आफ्नो सेना तथा योजनामा समायोजन नगर्ने बताए।  

उनले आफूहरूसँग स्थल, जल तथा हवाइ सैनिक रहेको र तत्कालै ३५ हजार सैनिक खाडीवरपर पुग्नसक्ने उल्लेख गरे।  

यसमा ट्याङ्क तथा आपाचे हेलिकप्टरहरूको साथमा १० हजार अमेरिकी स्थल सैनिक, समुद्रमा ४० जहाज, यसको साथमा एक हवाइजहाज वाहक जहाज र त्यसको समूह, क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली, राडार, चालकविहीन गुप्तचर विमानहरू तथा छोटो समयमा आक्रमण गर्नसक्ने युद्धक विमानहरू रहेको उनले बताए।  

खाडीमा रहेका अमेरिकी सहयोगी र विशेष गरी साउदी अरेबिया विश्वशक्ति मुलुक तथा इरानबीच नोभेम्बर २४ मा भएको अन्तरिम सम्झौताबाट आशङ्कामा परेका छन्। यस सम्झौतामा तेहरानले आफ्नो पारमाणविक कार्यक्रमका केही भागलाई पञ्छाउने तथा पश्चिमी मुलुकले सीमित प्रतिबन्ध हटाउने कुरा परेका छन्।  

इरानमा सिया मुसलमानको बाहुल्य रहेको छ भने खाडी मुलुकमा प्रायः सुन्नी मुसलमान बसोबास गर्छन् र यस सम्झौताले उनीहरूको अमेरिकासँगको सम्बन्ध खल्बलिएको छ।