September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

अपाङ्ग मैत्री संरचना नहुँदा समस्या

त्रिशुली (नुवाकोट), २३ मंसिर। जिल्लाका अत्यावश्यकीय सरकारी कार्यालय र विद्यालयहरू अपाङ्ग मैत्री नहुँदा अपाङ्गता भएकाहरूलाई समस्या पर्दै आएको छ।  

सरकारले सरकारी भवनहरू अपाङ्ग मैत्री बनाउनुपर्ने भनेर व्यवस्था गरेको आधा दशक नाघे पनि अझै पनि जिल्लामा पछिल्ला वर्षहरूमा बनेका सरकारी कार्यालय र विद्यालयहरू अपाङ्ग मैत्री हुनसकेका छैनन्।  

अत्यावश्यक  कार्यालयहरूमा अपाङ्ग मैत्री संरचना नहुँदा अपाङ्ग सेवाग्राहीलाई समस्या परेको राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका जिल्ला अध्यक्ष लोचन भट्टराईले बताउनुभयो। सरकारी कार्यालय र विद्यालयमा अपाङ्ग मैत्री संरचनाको माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, विदुर नगरपालिका र जिल्ला शिक्षा कार्यालयहरूमा दबाबस्वरुप धर्ना दिएपछि ती कार्यालयले अहिले भएको संरचनालाई अपाङ्ग मैत्री बनाउने र आगामी दिनमा नयाँ बन्ने भवनहरू अनिवार्य रूपमा अपाङ्ग मैत्री बनाउने प्रतिबद्धता जनाएको अध्यक्ष भट्टराईले बताउनुभयो।  

विशेषगरी सरकारी कार्यालय र सरकारी वा निजी सबैखाले विद्यालय अपाङ्ग मैत्री बनाउनुपर्ने अपाङ्गताको क्षेत्रमा क्रियाशीलहरूको भनाइ छ।  

जिल्लाका सरकारी र निजी प्रायः सबै विद्यालय अपाङ्ग मैत्री नहुँदा अपाङ्गता भएका बालबालिकालाई समस्या भइरहेको नुवाकोट अपाङ्ग सेवा सङ्घका अध्यक्ष नरेन्द्र तामाङले बताउनुभयो। विद्यालयका वाहिरी तथा भित्री संरचना कुनै पनि अपाङ्ग विद्यार्थीलाई ह्विलचेयर लैजान मिल्ने र दृष्टिविहीनलाई सेतो छडीको सहाराले विद्यालय जान मिल्ने अवस्थाको नभएको अध्यक्ष तामाङले बताउनुभयो।  

जिल्लाको विदुर नगरपालिकासहित ६१ वटै गाविसका विद्यालयमध्ये एउटा पनि अपाङ्ग मैत्री नभएको जिल्ला शिक्षा कार्यालयले स्वीकारेको छ। २०६२/६३ सालको परिवर्तनपछि अपाङ्गको अधिकारका बारेमा धेरै कुरा उठे पनि त्यसयता बनेका भौतिक संरचना अपाङ्ग मैत्री हुन नसकेको अपाङ्गता अधिकारवादीहरूले बताएका छन्।  

जिल्लामा ३१३ प्रावि, ८७ निमावि र १११ वटा माविमध्ये अधिकांश भुइँतले रहे पनि अपाङ्ग मैत्री नरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।  

अपाङ्ग मैत्री भनेर हालसम्म कुनै पनि विद्यालयलाई कायम नगरिएको र अब निर्माण गरिने विद्यालय भवन भने अपाङ्ग मैत्री मापदण्डअनुसार निर्माण गर्न निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी वावुकाजी कार्कीले बताउनुभयो।  

नुवाकोटको भैरवी उच्च मावि अशोकवाटिका, रणभुवनेश्वरी उच्चमावि खड्गभञ्याङ, चण्डेश्वरी उच्च मावि तुप्चे र बागेश्वरी उच्च मावि चोकदेमा अपाङ्ग तथा सुस्तः मनस्थितिका बालबालिकालाई विशेष शिक्षा प्रदान भइरहेको छ। तर यिनै विद्यालयका संरचनाहरू पनि अपाङ्ग मैत्री भने बनाइएको छैन।         रासस