September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

पाँच वर्षदेखि वधशाला प्रयोगविहीन

गाईघाट (उदयपुर), २३ मंसिर। उदयपुरको त्रियुगा नगरपालिका–३ गाईघाट बजारस्थित त्रियुगा नदीको किनारमा निर्मित पशु वधशाला अहिलेसम्म प्रयोगविहीन अवस्थामा रहँदै आएको छ। 

पाँच वर्षअघि करिब चार लाख ५० हजारको लगानीमा त्रियुगा नगरपालिका गाईघाटले उक्त वधशाला निर्माण गरे तापनि अहिलेसम्म मासु व्यापारीले उक्त वधशाला प्रयोग गरेका छैनन्। 

वधशाला प्रयोग नहुँदा त्रियुगा नगरपालिकाले वधशाला निर्माण गर्न लगानी गरेको चार लाख ५० हजार लगानीसमेत बालुवाको पानीसरह खेर गएको गाईघाटका स्थानीय बासिन्दाको भनाइ रहेको छ। 

यता मासु व्यापारीले भने उक्त वधशाला अहिलेसम्म प्रयोग नगरेर गाईघाट बजारका विभिन्न स्थानमा नै अव्यवस्थित ढङ्गले पशु वध गर्ने र मासु बिक्री गर्दै आएका छन्। 

मुख्य गरेर राँगा, सुँगुर तथा खसी काट्न र बिक्री गर्ने उद्देश्यका साथ निर्माण गरिएको उक्त वधशाला प्रयोग नहँुदा नगरपालिकाको लगानी त्यतिकै खेर गइरहेको छ भने यता मासु व्यापारीले बजार क्षेत्रमा जथाभावी मासु काट्ने र पशुवध गरेर बिक्री गर्ने कार्यले गाईघाट बजारका विभिन्न स्थान फोहोर तथा प्रदूषित हुँदै आएको पाइन्छ। 

मासु व्यापारीले त्रियुगा नदी किनारमा रहेको वधशाला प्रयोग नगर्नुको कारणबारे एक मासु व्यापारी रहरमान राई भन्नुहुन्छ–“त्रियुगा नदीको किनारमा वधशाला निर्माण भएको छ, जहाँ त्यसैको छेउमा मान्छे पोल्ने मसानघाट रहेको छ, अनि त्यस्तो स्थानमा मासु काटे पनि कसैले किन्न आउँदैनन् र खाँदैनन्, आफूहरूले त्यसैले वधशाला प्रयोग नगरेका हौं।” 

अर्का मासु व्यापारी मोहन मगर भन्नुहुन्छ–“खोलाको किनारमा बनाइएको वधशाला सम्पूर्ण गाईघाट बजारको फोहोर व्यवस्थापन गर्ने र फाल्ने डम्पिङ साइडमा रहेको छ, अर्कोतिर मान्छे पोल्ने स्थान भएका कारण र काटिएको मासु कसैले पनि नखाने भएको कारण यो वधशाला प्रयोग गर्न उचित छैन भनेर नै सबैले प्रयोग नगरेका हौं।” 

गाईघाटका मासु व्यापारीहरू अर्को स्वच्छ स्थानमा वधशाला बनाइनुपर्ने आफूहरूको माग रहेको बताउँछन्। वधशाला प्रयोग नभएको विषयमा यता त्रियुगा नगरपालिका गाईघाटका सहायक अधिकृत गुरुप्रसाद ढकालको धारणा भने यस्तो रहेको छ–'पहिला त्रियुगा नदी किनारबाट मसानघाट हटाएर अन्यत्र सार्ने भनेर वधशाला निर्माण गरियो, गाईघाटस्थित त्रियुगा नदी किनारमा मान्छे नपोल्ने निर्णय गरे तापनि धेरै स्थानीयवासीले सोही स्थानमा मसानघाट बनाउने गरेको कारण वधशाला स्वच्छ हुन सकेन, अब छुट्टै स्थानमा निर्माण गर्नेछौं।' 

त्रियुगा नदी किनारमा मासु व्यापारीका लागि प्रयोग गर्न बनाइएको वधशाला प्रयोगविहीन भएको कुरा त्रियुगा नगरपालिकाले अहिले आएर स्वीकार गरेको पाइन्छ। अब यही पुस महिनाभित्र नै अन्यत्र स्वच्छ स्थानमा वधशाला निर्माण सुरु गर्ने योजना रहेको  सहायक अधिकृत ढकालको भनाइ रहेको छ। अहिले पशु विकास कार्यालय उदयपुरले वधशाला निर्माण गर्न पाँच लाख रकम व्यवस्थापन गरेको र यसमा नगरपालिकाले रकम थप गरेर अर्कै स्थानमा वधशाला निर्माण गर्ने त्रियुगा नगरपालिकाले बताएको छ। 

अर्को वधशाला निर्माण नभएको कारण अहिले गाईघाट बजारमा मासु व्यापारीहरूले मनपरी स्थानमा पशु वध गर्ने र हडड्ी तथा छाला फाल्ने गरेको कारण मुख्य गरेर गाईघाट बजारको सब्जी बजार तथा लक्ष्मी मार्ग टोल बढी प्रदूषित हुने गरेको गाईघाट सब्जीबजारका एक बासिन्दा कमला दाहालको भनाइ रहेको छ। 

पुरानो वधशाला प्रयोगविहीन अवस्थामा रहेपछि अब अर्को छुट्टै स्थानमा छिटोभन्दा छिटो वधशाला निर्माण हुनुपर्ने गाईघाटका मासु व्यापारीलगायत स्थानीय बासिन्दाको धारणा रहेको पाइन्छ।     रासस