September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

विश्वका उच्च नेताहरू दक्षिण अफ्रिकातर्फ

प्रिटोरिया, २३ मंसिर। दिवंगत नेता मन्डेलाप्रति श्रद्धाञ्जली अर्पण गर्न र उहाँको शोकसभामा सहभागी हुनको लागि विश्वका विभिन्न राष्ट्रबाट राष्ट्रपति, प्रधानमन्त्री, धार्मिक नेताहरू र उच्चस्तिरीय व्यक्तित्वको उपस्थित यहाँ हुन थालेको छ। त्यस्तै दक्षिण अफिकाभरिका जनता शोक मनाउँदै जोहानेसवर्गमा भेला भइरहेका छन्। 

विश्वप्रसिद्ध प्रजातन्त्रवादी नेता एवम् रङ्गभेदविरोधी विश्व आन्दोलनका एकजना प्रमुख अग्रणी दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको ९५ वर्षको उमेरमा गत डिसेम्बर ५ का दिनमा उहाँको आफ्नै निवासमा निधन भएको थियो।  

राजकीय सम्मानका साथ उहाँको अन्त्येष्टि १५ डिसेम्बरका दिन गरिने बताइएको छ। रङ्गभेदविरोधी आन्दोलनका एक प्रमुख अग्रणी दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको अन्त्येष्टिका लागि दस दिनको कार्यक्रम सार्वजनिक गरिएको समाचार छ। 

पूर्व राष्ट्रपति तथा अश्वेत नेता मन्डेलाको शोक सभामा औपचारिक रुपमा मङ्गलबार हुनेे बताइएको छ। 

दक्षिण अफ्रिकाको सरकारले उहाँको अन्त्येष्टिका लागि शुक्रबारदेखि दस दिनसम्म श्रद्धाञ्जलीका लागि राख्ने निर्णय गरेको थियो। उक्त समयसम्मका लागि त्यहाँ राष्ट्रिय शोकको घोषणा गरिएको छ। 

संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुन दक्षिण अफ्रिकाको पूर्व राष्ट्रपति नेल्सन मन्डेलाको शोक सभामा उपस्थितिको लागि त्यसतर्फ जान लाग्नुभएको संयुक्त राष्ट्रसङ्घले शनिबार जानकारी दिएको छ। बान पेरिसबाट दक्षिण अफ्रिकातर्फ आइतबार प्रस्थान गर्नुहुनेछ। 

बान आगामी बुधबार न्युयोर्क फर्किनु हुने बानको कार्यलयबाट प्रकाशित विस्तृत विज्ञप्तिमा जनाइएको छ। मन्डेलाको पार्थिक शरीरलाई जोहानेसवर्गस्थित ९४ हजार सिटको क्षमता 'सिटी स्टेडियम' मा राखिएको जनाइएको छ। 

अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि मन्डेलाको शोकसभा र अन्येष्टिमा नै उपस्थित हुनु हुने बताइएको छ।             एएफपी