मुक्तिनाथको आम्दानी पारदर्शी गर्ने प्रयास
जोमसोम, २४ मंसिर। सरकारले प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको आम्दानी पारदर्शी गर्ने प्रयास थालेको छ।
मुक्तिनाथ विकास समितिको सक्रियतामा मन्दिरको भेटी जिन्सीलगायत अन्य आम्दानी पारदर्शी एवम् व्यवस्थित बनाउने प्रयास थालिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीले बताउनुभयो। समितिका पदाधिकारी तथा स्थानीय व्यक्ति सम्मिलित समिति गठन गरेर मन्दिरको आय र अचल सम्पत्तिको खोजी थालिएको उहाँले जानकारी दिनुभयो।
मन्दिरको दानपात्रमा हालसम्म रु. ५० लाख सङ्कलन भएको जानकारी दिँदै उहाँले मन्दिर परिसरको पूर्वाधार निर्माण, मर्मतसम्भार, सरसफाइलगायत काममा उक्त रकम उपयोग हुँदै ज्ञआएको बताउनुभयो। तीर्थयात्रीका निम्ति विश्रामस्थल, शौचालय निर्माणजस्ता काममा समितिले उक्त रकम खर्च गर्दै आएको छ। तीर्थयात्रीले दानपात्रमा हालेको रकम मात्र समितिको कोषमा जम्मा हुने गरेको तर मन्दिरमा चढाइने भेटी, सुनचाँदीलगायत रत्नादि भने मुख्य पुजारी झुमाले लिने गरेको उहाँको भनाइ छ।
एक जना मुख्य झुमा, उहाँका पाँच सहयोगी झुमा र अन्य गरी १८ जनाले मन्दिरमा चढाइएको भेटीको भोगचलन गर्दै आएको उहाँले बताउनुभयो। हरेक वर्ष चैतदेखि असोजसम्म भारतलगायत मुलुकका विभिन्न स्थानबाट हजारौं भक्तजन मुक्तिनाथ दर्शनका निम्ति आउने गरेका र उनीहरूले ठूलो रकम मन्दिरमा चढाउने भएकाले त्यसलाई पारदर्शी एवम् व्यवस्थित गर्न जरुरी भएको उहाँले बताउनुभयो। “तीर्थयात्रीले लत्ताकपडा पनि चढाउँदा रहेछन्, तीमध्ये केही झुमाहरूले आफैले लिने र बाँकी कपडा जलाउने रहेछन्”, आफूले त्यो जानकारी पाएपछि झुमाहरूबाट ती कपडा लिएर स्थानीय रेडक्रसलाई उपलब्ध गराउन थालिएको जानकारी प्रमुख जिल्ला अधिकारी रेग्मीले दिनुभयो।
मुक्तिनाथ मन्दिरका नाममा झण्डै दुई हजार रोपनी जग्गा म्याग्दीका विभिन्न स्थानमा रहेको विवरण प्राप्त भएको जानकारी दिँदै उहाँले त्यसको खोजी पनि थालिएको बताउनुभयो। छ महिनाअघि मुस्ताङ खटिनुभएका प्रजिअ रेग्मीले मन्दिरको भेटी र सम्पत्तिको खोजीमा स्थानीय जनताको सहयोग प्राप्त भए पनि केहीले भने असहयोग गरेको गुनासो गर्नुभयो। रासस
|