सिरियाली विपक्षी नेता रसिया जाने
कुवेत, २४ मंसिर। सिरियाली आन्दोलनरत विपक्षी दलहरूको मोर्चाका नेता अहमद जर्बाले रसियाको भ्रमण गर्नुहुने भएको छ।
रसियाकै निमन्त्रणामा उहाँले सो भ्रमण गर्न लाग्नुभएको समाचारमा जनाइएको छ। सिरियाली विपक्षी नेताले रसियाको औपचारिक निमन्त्रणामा गर्न लागेको यो पहिलो भ्रमण हो।
उहाँले सो भ्रमण कहिले गर्ने भन्नेबारेमा भने केही बताउनुभएको छैन। यसै महिना सो भ्रमण हुनसक्ने बताइएको छ।
रसिया करिब ३० महिनाभन्दा लामो समयदेखि जारी रहेको सिरियाली आन्दोलनमा सिरियाली सरकारको समर्थकको रुपमा रहेको बताइन्छ।
सोही कारणले पनि उक्त भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। विगतमा सिरियामाथि अमेरिकाले गर्ने भनेको सैनिक कारबाहीको रसियाले विरोध गरेको थियो।
आगामी जनवरी महिनामा सिरियाकै बारेमा जेनेभामा शान्तिवार्ता हुन लागेकोले आन्दोलनरत दलका नेताको यस भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।
आगामी जनवरी महिनाको २२ तारिखमा सिरियाका बारेमा संयुक्त राज्य अमेरिका र रसियाले संयुक्त रुपमा सो शान्तिवार्ता गर्ने भएका हुन्।
विपक्षी परिषदका प्रमुख जर्बाले भन्नुभयो–रसियाली विदेशमन्त्री सेर्गेइ लाभरोभले मलाई मस्को भ्रमणका लागि २० दिनअघि निमन्त्रणा दिनुभएको छ। एएफपी
|