निर्वाचनको घोषणापछि पनि थाइल्यान्डमा प्रदर्शन
बैङ्कक, २४ मंसिर। थाइल्यान्डका प्रधानमन्त्रीले करिब एक महिनायतादेखि जारी रहेको आन्दोलनको अन्त्यका लागि नयाँ निर्वाचनको प्रस्ताव गरेपछि पनि विपक्षीहरूको विरोध प्रदर्शन नरोकिएको बताइएको छ।
उक्त प्रस्तावपछि विपक्षीहरूले नयाँ निर्वाचनमा जानसक्ने अनुमान गरी उहाँले नयाँ निर्वाचनको प्रस्ताव गर्नुभएको हो। तर सोमबार पनि विपक्षी दलहरूले सरकारविरोधी प्रदर्शनलाई निरन्तरता दिएका छन्।
करिब महिनादिन यतादेखि आन्दोलन गर्दै आएका प्रतिपक्षी सांसदहरूले आइतबार सामूहिक रूपमा राजीनामा दिएका थिए। सो राजीनामापछि देशमा राजनीतिक सङ्कट अझै गहिरिएको बताइन्छ।
प्रधानमन्त्री यिङलक सिनावात्राले आइतबार सरकारविरोधी आमप्रदर्शन अन्त्य गर्न निर्वाचन गर्ने आफ्नो चाहना व्यक्त गर्नुभएको थियो। नयाँ निर्वाचनको प्रस्तावपछि सोमबार बैङ्ककको सडकमा करिब एक लाख नागरिकले प्रदर्शन गरिरहेको समाचारमा जनाइएको छ। विगतदेखि प्रदर्शन गरिरहेका विपक्षी नेताहरूले यो प्रदर्शन प्रधानमन्त्री सिनावात्रालाई पदमुक्त गर्न तथा उहाँका दाजु थाकसिनको प्रभाव कम गर्न अन्तिम प्रदर्शन हुने बताएका छन्।
यिङलकको सरकारलाई करिब एक महिनायताको प्रदर्शनले निकै अप्ठेरो पारिरहेको विश्लेषकहरूको भनाइ छ। कहिलेकाहीं यी प्रदर्शनमा दसौं हजार जनताको भीड जुट्ने गरेको छ।
प्रधानमन्त्री यिङलकले प्रजातान्त्रिक प्रक्रियालाई प्रदर्शनकारीहरूले पनि सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। उहाँका विरोधीमा राजावादी तथा मध्यमवर्गीय जनता पनि रहेका छन्। त्यहाँको संसदले आममाफीसम्बन्धी कानुन ल्याएपछि त्यसको विरोधमा विपक्षीहरूले आन्दोलन सुरु गरेका हुन्। तर सो कानुन भने थाइ संसदको माथिल्लो सदनले असफल गराइदिएको थियो।
उक्त विधेयक असफल भएपछि पनि आन्दोलन जारी नै रहेकोले प्रधानमन्त्री सिनावात्राले सबै विपक्षीहरूलाई आन्दोलन रोक्न आग्रह गर्नुभएको थियो। तर आन्दोलन नरोकिएपछि हिजोमात्र उहाँले नयाँ संसदको प्रस्ताव गर्नुभएको हो।
प्रधानमन्त्री सिनावात्राले भ्रष्टाचारको मुद्दा सामना गर्न नसकी विदेशमा निर्वासनमा रहेको आफ्ना दाजु एवम् पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्रालाई स्वदेश फर्किने सहमतिका लागि सो कानुन ल्याएको विपक्षीहरूले जनाएका छन्।
एएफपी |