निर्वाचनअघि राजीनामा असम्भव – थाई प्रधानमन्त्री
बैङ्कक, २५ मंसिर। थाईल्याण्डका प्रधानमन्त्री यिङलक सिनावात्राले विपक्षी दलहरूको मागबमोजिम आफूले राजिनामा नदिने बताउनुभएको छ।
उहाँले सोमबारमात्र संसद विघटन गरी नयाँ निर्वाचनको प्रस्ताव गर्नुभएको थियो। तर सो निर्वाचनमा नजाने भन्दै विपक्षीहरूले प्रधानमन्त्रीले राजीनामा नै दिनुपर्ने माग गरिरहेका छन्।
प्रधानमन्त्री सिनावात्राले मङ्गलबार बसेको मन्त्रिपरिषदको बैठकपछि संवाददाताहरूलाई प्रतिक्रिया दिँदै भन्नुभयो– नयाा निर्वाचनको घोषणा भइसकेको छ, अब सरकारका सामु नयाँ निर्वाचनबाहेकको अर्काे वैधानिक बाटो छैन।
विपक्षी दलहरूले त निर्वाचनमा नजाने भन्दै उहाँलाई तत्कालै राजिनामा दिनुपर्ने माग गरेका छन् नि भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री सिनावात्राले भन्नुभयो– आफू अर्काे निर्वाचनसम्मका लागि काम चलाउन प्रधानमन्त्रीका रुपमा बस्नुपर्ने कानुनी बाध्यता पनि हो।
उहाँले निर्वाचन अघि आफूले कुनै पनि हालतमा राजिनामा नदिने स्पष्ट गर्नुभयो। उहाँको राजिनामा माग्दै राजधानी बैङ्ककमा विगत करिब महिनादिनदेखि आन्दोलन जारी रहेको छ।
सोमबार करिब डेढ लाख नागरिकले राजधानी बैङ्ककमा विरोध प्रदर्शन गरेका थिए। तर मङ्गलबार भने आन्दोलन एवम् प्रदर्शनको कुनै कार्यक्रम अहिलेसम्म देखिएको छैन।
नयाँ निर्वाचन आगामी फेब्रुअरीमा गर्ने भनिएको छ। तर नयाँ निर्वाचनको मिति भने तोकिएको छैन। सरकारी स्रोतका अनुसार आगामी फेब्रुअरीको पहिलो साता नै निर्वाचन हुनसक्नेछ।
थाइल्याण्डको संसदले आममाफीसम्बन्धी कानुन ल्याएपछि त्यसको विरोधमा विपक्षीहरूले आन्दोलन सुरु गरेका हुन्। उक्त विधेयक असफल भएपछि पनि आन्दोलन जारी नै रहेकोले प्रधानमन्त्री सिनावात्राले सबै विपक्षीहरूलाई आन्दोलन रोक्न आग्रह गर्नुभएको थियो। एफपी
|