September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

डम्पिङ साइट बनाउन नगरपालिकालाई जग्गा अभाव

कञ्चनपुर, २५ मंसिर। कञ्चनपुरको भीमदत्त नगरपालिकालाई डम्पिङ साइट निर्माण गर्न जग्गाको अभाव भएको छ।  

नगरपालिकाको वडा नं १९ नजिक डम्पिङ साइट निर्माण गर्नका लागि स्थान पहिचान गरिए पनि शुक्लाफाँटा आरक्ष नजिक पर्ने भन्दै स्थानीयले विरोध जनाएपछि डम्पिङ साइट बन्न नसकेको हो।  

स्थानीयको विरोधपछि नगरपालिकाले राजनीतिक दलहरूको सहभागितामा गत वर्ष नगरपालिकाको वडा नं ८ र १० को सिमानामा पर्ने दुई बिघा जग्गालाई डम्पिङ साइट बनाउनका लागि स्थान छनोट गरी प्रारम्भिक अध्ययनको कार्य गरेको थियो। 

स्थानीयले पहिला डम्पिङ साइट बनाउन स्वीकृति दिए पनि हाल आएर बनाउन नदिने भन्दै विरोधमा उत्रिएपछि डम्पिङ साइट निर्माणको कार्यलाई अगाडि बढाउन नसकिएको नगरपालिकाका प्रशासकीय अधिकृत हरिसिंह धामीले बताउनुभयो।  

“स्थानीयसँग पुनः छलफल गरेर सहमतिमा ल्याउन सकिन्थ्यो तर नगरपालिकासँग डम्पिङ साइट निर्माण गर्न लाग्नेे रकमको अभावले डम्पिङ साइट निर्माणलाई अगाडि बढाउन सकेका छैनौं”, उहाँले भन्नुभयो। “डम्पिङ साइटको स्थान छनोटका लागि प्रतिवर्ष अवलोकनका लागि कार्य हुँदै आए पनि स्थानीयको अवरोध र जग्गा नै नपाउँदा समस्या छ”, अधिकृत धामीले भन्नुभयो।  

डम्पिङ साइट बनाउनेबारे टुङ्गो नलाग्दा फोहोर व्यवस्थापनको कार्यमा चुनौती थपिंदै गएको अधिकृत धामीले बताउनुभयो। 

फोहोर व्यवस्थापन गर्ने निश्चित स्थान नभएपछि इको पार्क, नगरपालिका कार्यालयको कम्पाउन्डभित्र र खाल्टाखुल्टी पुर्नका लागि फोहोर फाल्ने गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत धामीले बताउनुभयो। 

महेन्द्रनगर बजारमा बसोवास गर्दै आएका दुई हजार घरघुरीबाट दैनिक जैविक र अजैविक गरी पाँच टनभन्दा बढी फोहोर उत्पादन हुँदै आएको छ। फोहोर व्यवस्थापनका लागि नगरपालिकाले प्रतिवर्ष रु दुई लाख ७५ हजार खर्च गर्दै आएको छ। रासस