September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

माओवादीका कार्यकर्ता धरौटीमा रिहा

चितवन, २५ मंसिर। नारायणगढ–मुग्लिन सडकखण्डको कविलासमा गुडिरहेको बसमा पेट्रोल बम प्रहार गरेको अभियोगमा पक्राउ परेका नेकपा–माओवादीका कार्यकर्तालाई जिल्ला अदालत चितवनले सोमबार धरौटीमा रिहा गरेको छ। 

गत कार्तिक २६ गतेको सो घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका शक्तिखोरका २८ वर्षीय छलाङ उपनामका नवीन विसीलाई प्रहरीले पक्राउ गरी विष्फोटक पदार्थ ऐन तथा हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा चलाएको थियो। 

विसी नेकपा–माओवादीका राज्य समिति सदस्य तथा राष्ट्रिय युवा जनस्वयम्सेवकका सदस्य हुन्। अदालतले विष्फोटक पदार्थ ऐनअन्तर्गत रु.पाँच हजार धरौटीमा छाडेको भए पनि उनीमाथि चलाइएको हातहतियार तथा खरखजाना ऐनअन्तर्गतको मुद्दा भने जिल्ला प्रशासन कार्यालय चितवनमा विचाराधीन रहेको छ। 

विसीलाई सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना ४ ख ४७३४ नम्बरको यात्रुबाहक बसमा पेट्रोल बम प्रहार र भरतपुरको रामनगरस्थित टङ्कनाथ न्यौपानेको घर अगाडि बम राखेको अभियोग छ। 

मंसिर २ गते उनलाई भरतपुर– १२ टाउनबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको अभियोगमा पक्राउ परेका अन्य भने यसअघि नै रिहा भइसकेका छन्।   रासस