September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

मध्यपश्चिममा मानव अधिकार उल्लङ्घनका घटना

नेपालगञ्ज, २५ मंसिर। राष्ट्रिय मानवअधिकार आयोगको तथ्याङ्कअनुसार गत छ महिनाको अवधिमा मध्यपश्चिम ८६१ मानवअधिकार उल्लघङ्नका घटना भएका छन्। गत वैशाखदेखि कार्तिकसम्म यस क्षेत्रका १५ जिल्लामा हत्या, ज्यान मार्ने उद्योग, यातना, दुर्व्यवहार, बलात्कार, जग्गा तथा बालीनाली कब्जा, लुटपाट, महिला तथा बालहिंसा, भेदभावलगायतका मानवअधिकार उल्लघङ्नका घटना भएका अभिलेखले देखाउँछ। 

आयोगद्वारा मङ्गलबार यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कमा मुलुकमा राजनीतिक अस्थिरता, अराजकता र दण्डहीनताको अवस्था बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ। 

'मानवअधिकारका लागि हातेमालो गरौं' नारासहित आयोजना गरिएको 'मानवअधिकारको अवस्था र मानव अधिकार रक्षकको सुरक्षा' विषयक अन्तर्क्रिया कार्यक्रममा वक्ताले सबैको साझा प्रयासबाट मात्र मानवअधिकारको संरक्षण तथा संवर्द्धन हुनसक्ने धारणा राखे। 

त्यस अवसरमा पुनरावेदन अदालत नेपालगन्जका मुख्य न्यायाधीश केशवप्रसाद मैनाली, आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल, अधिवक्ता विश्वजित तिवारी, अधिकारकर्मी भोला महत, पत्रकार नीरज गौतम, प्रहरी वरिष्ठ उपरीक्षक मधुप्रसाद पुडासैनी र सहायक प्रजिअ कृष्ण आचार्यले मुलुकमा मानवअधिकारको अवस्था सप्रदै गएपनि सुधारका चुनौती पनि प्रशस्त रहेको बताउनुभयो।                                  रासस