September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

पारमाणविक युद्धले भोकमरी गराउन सक्ने र मानव सभ्यता अन्त्य गर्नसक्ने

वासिङटन, २६ मंसिर। भारत तथा पाकिस्तानबीच पारमाणविक युद्ध भएमा विश्वव्यापी भोकमरी उत्पन्न गराउनसक्ने, त्यसबाट दुई अर्ब मानिसको मृत्यु गराउनसक्ने र मानवसभ्यता अन्त्य गराउनसक्ने एक अध्ययनमा उल्लेख गरिएको छ। 

नोबेल शान्ति पुरस्कार विजेता पारमाणविक युद्ध हुननदिन तथा सामाजिक जिम्मेवारीका लागि चिकित्साशास्त्रीहरूको अन्तर्राष्ट्रिय समूह 'इन्टरनेसनल फिजिसियन्स फर द प्रिभेन्सन अफ न्युक्लियर वार र फिजिसियन्स फर सोसिएल रेस्पोन्सिबिलिटी'ले प्रकाशन गरेको यस प्रतिवेदनमा सीमित रूपमा भए पनि पारमाणविक हतियारको सङ्घर्ष भएमा त्यसले वातावरणलाई निकै नराम्रो प्रभाव पार्ने र बाली नष्ट गर्ने उल्लेख गरिएको छ।  

सन् २०१२ मा गरिएको यस अध्ययनमा पारमाणविक युद्धका कारण उत्पन्न भोकमरीका कारण एक अर्बभन्दा बढी व्यक्तिको मृत्यु हुने उल्लेख गरिएको छ।  

यस प्रतिवेदनको दोस्रो संस्करणमा यस समूहले चीनमा पर्ने प्रभावका विषयमा कम आङ्कलन गरिएको र विश्वमा सबैभन्दा अधिक जनसङ्ख्या भएको मुलुकमा खाद्यान्न निकै कमी हुने उल्लेख गरिएको छ। 

यस प्रतिवेदनका लेखक आइरा हेलफान्डले पारमाणविक हतियारसम्पन्न भारत तथा पाकिस्तानबीच लामो समयदेखि तनाव कायम भएकाले अध्ययनमा उनीहरूमा ध्यान दिइएको उल्लेख गर्नुभयो। यी मुलुक सन् १९४७ मा स्वतन्त्र भएपछि उनीहरूबीच तीनपटक युद्ध भएको छ। 

अमेरिकाले सन् १९४५ मा हिरोसिमा तथा नागासाकीमा आणविक बम प्रयोग गर्दा दुई लाख जनताको मृत्यु भएको थियो भने पारमाणविक हतियार ती बमभन्दा निकै शक्तिशाली भएको मानिन्छ। प्रतिवेदनमा अमेरिका तथा रसियाबीच ठूलो युद्ध भएमा मानव जाति नै नष्ट हुनसक्ने अनुमान गरिएको छ। 

प्रतिवेदनमा दक्षिण एसियामा पारमाणविक युद्धको कारण पर्यावरणमा जाने कार्बोन एरोसोलको अंशबाट अमेरिकामा मकै तथा भटमासको उत्पादन १० प्रतिशतसम्म घट्नसक्ने अनुमान गरिएको छ। यसका कारण चीनमा धान उत्पादन २१ प्रतिशतसम्म घट्नसक्ने अनुमान प्रतिवेदनमा गरिएका छ। प्रतिवेदनमा चिनियाँ गहुँ उत्पादनमा पनि निकै प्रभाव पर्ने उल्लेख गरिएको छ। 

यसैगरी प्रतिवेदनमा पारमाणविक युद्धको वास्तविक प्रभाव अनुमान गर्न असम्भव भएको र यी कुराको एकमात्र सही उत्तर पारमाविक हतियार नष्ट गर्नु रहेको उल्लेख गरिएको छ।  

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २००९ मा यस विषयमा काम गर्ने बताउनुभएको थियो। उहाँले अन्य मुलुकले यस्तो हतियार राखेसम्म अमेरिकाले पनि राख्ने बताउनुभयो। विश्वका नौ मुलुकमा पारमाणविक हतियार रहेको अनुमान गरिन्छ र त्यसको ठूलो भाग अमेरिका तथा रसियासँग रहेको बताइन्छ।                 एएफपी