September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

विश्वका नेता दक्षिण अफ्रिकामा

सोएतो (दक्षिण अफ्रिका), २६ मङ्सिर। दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एवम् अस्वेत आन्दोलनका महान नेता नेल्सन मण्डेलाको अन्त्येष्टि कार्यक्रममा सहभागिताका लागि विश्वका नेताहरु यतिखेर दक्षिण अफ्रिकामा जम्मा भएका छन्।  

मण्डेलाको अन्त्येष्टि कार्यक्रमअन्तर्गत मङ्गलबार दक्षिण अफ्रिकाको सोएतो रङ्गशालामा आयोजना गरिएको स्मृति सभामा विश्वका कम्तीमा पनि १०० देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख एवम् विभिन्न देशका प्रजातान्त्रिक आन्दोलनका नेता जम्मा भएका थिए। 

हिजो भएको सो विशाल सभाको नेतृत्व नै अमेरिकी राष्ट्रपति बाराक ओबामाले गर्नुभएको विश्वका विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन्।  

उक्त समारोहरमा सहभागिताका लागि विश्वका नेताहरु जाने क्रम जारी नै रहेको छ। गत बिहीबार निधन भएका प्रजातन्त्रवादी नेता मण्डेलाको विभिन्न सहरमा स्मृति सभाहरु भइरहेका छन्।  

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाका साथै पूर्व राष्ट्रपति जर्ज डब्लु बुस र उहााका धर्मपत्नी लाउरा बुस, पूर्व राष्ट्रपतिद्वय बिल क्लिन्टन र जिम्मी कार्टर पनि मङ्गलबार नै त्यहाँ पुगिसक्नुभएको बताइएको छ। 

राष्ट्रपति ओबामा र क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रोले मङ्गलबारै सोएतो रङ्गलशालामा आयोजना गरिएको मण्डेलाको श्रद्धाञ्जली सभामा भाषण दिनुभएको छ।  

त्यसैगरी भारतीय राष्ट्रपति प्रणव मुखर्जी दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एमव् अस्वेत आन्दोलनका अग्रणी नेल्सन मण्डेलाको अन्त्येष्टि समारोहमा सहभागी हुन सोमबार नै त्यसतर्फ प्रस्थान गर्नुभएको थियो।  

उहाँसँगै भारतीय सत्तारुढ दल भारतीय काङ्ग्रेसकी नेत्री सोनिया गान्धी पनि सोही कार्यक्रममा सहभागी हुन दक्षिण अफ्रिका पुग्नुभएको छ। 

मण्डेलाको अन्त्येष्टि समारोहमा विश्वका विभिन्न देशका राजनीतिक दलका नेता, राष्ट्राध्यक्ष र सरकारप्रमुखको सहभागिता हुने बताइएको छ। 

मण्डेलाको अन्त्येष्टिका लागि दक्षिण अफ्रिकाको सरकारले गत शुक्रबारदेखि दश दिनसम्म श्रद्धाञ्जलीका लागि राख्ने निर्णय गरेको हो। उक्त समयसम्मका लागि त्यहाँ शोकको घोषणा गरिएको छ।  

उहाँको अन्त्येष्टि आगामी आइतबार गरिने भएको छ। त्यसअघि सम्म उहाँको पार्थिव शरीरलाई हालको उहाँको निवासमा राखिने छ। त्यस्तै उहाँको अन्त्येष्टि गर्नुभन्दा तीन दिनअघिदेखि उहाँको शवलाई उहाँको बाल्यकालको घर क्युनुमा राखिने छ।  

उक्त क्युनु सहरका नागरिकले उहाँप्रति आफ्नै निवासमा श्रद्धाञ्जली दिन पाउनुपर्ने माग गरेपछि सरकारले उक्त सहरमा तीन दिनसम्म उहाँको पार्थिव शरीर राख्ने जनाएको हो।  

सो नगरमा पनि विभिन्न औपचारिक सभाहरुको आयोजना सरकारले गरेको छ। कतिपय नेताहरु सोही समारोहमा भाग लिनेगरी पनि पुग्ने भएका छन्।