|
जनताको अभिमतको सम्मान गर
संविधानसभाको दोस्रो निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। अघिल्लो संविधानसभाको मुख्य ठूलो पार्टी बनेको नेकपा एमाओवादी यस निर्वाचनको परिणामले तेस्रो पार्टी बनेको छ। आफ्नो पार्टीको पराजयको सङ्केत पाउने बित्तिकै नेकपा एमाओवादीका नेताहरू अत्तालिएर बर्बराउन थालेका छन्। 'धाँधली भएको', 'देशी विदेशी ग्रायण्ड डिजाइनमा फसेको' 'जनताको मतको दुरुपयोग भएको' जस्ता आधारविनाका बखेडा गर्न रमाइलो लागे पनि यसले जनताको अभिमतको अपमान गरेको छ। चुनावी खेलमा हारजीत अवश्य हुन्छ। एमाओवादीले विगतमा उठाउँदै आएको 'जातीय राज्य' 'एकल जातीय पहिचान' आत्मनिर्णयसहितको जातीय अधिकार' जस्ता कुरालाई जनताले अस्वीकार गरेपछि एमाओवादीले बैलैमा बुझे राम्रो हो, बुझ पचाए भने आगामी दिनमा जनताबीचमा उनीहरू अझ नाङ्गिदै जानेछन्। जनता संविधानको अभावमा पिल्सिएको छ। अब पनि संविधान नबनाउने हो भने राजनीतिप्रति जनताको वितृष्णा अझ बढ्नेछ। अब जनतालाई फुटाउने र भड्काउने काम गर्नुभन्दा जनताको अभिमतलाई निसङ्कोच सम्मान गर्नु नै मुलुकको 'निकास' र 'विकास' को बाटो हुनेछ। विगतका दिनमा राजनीतिक पार्टीका नेताहरू गालीका विषय बने। आगामी दिनमा विगतको गल्ती नदोहोर्याने शर्तमा नै जनताले राजनीतिक पार्टीलाई चुनेका छन्। राजनीति छलछाम र षड्यन्त्र गर्ने साधन होइन। नेताले जनतालाई गाली गर्ने र सराप्ने काम गर्नुभन्दा आफ्ना गल्ती र कमजोरीको समीक्षा गर्नु राम्रो हुन्छ। जनताले माओवादीको विगतको हत्या, हिंसा, लुट, तोडफोड र उनीहरूको आचरण र बोली वचनको राम्रो समीक्षा गरेर आफ्नो विवेकको मतको सदुपयोग गरेका छन्। कुनै पार्टी हार्नु र जित्नुमा उसैका काम कारबाहीहरू जिम्मेवार हुन्छन्। लोकतन्त्रमा 'आवधिक निर्वाचन' अपरिहार्य हुन्छ। भर्खरै सम्पन्न निर्वाचनको मत परिणामले कसैप्रति न्याय गरेको र कतिपयलाई सोही परिणाम अपाच्य लागेको हुनसक्छ। तर शान्ति प्रक्रियामा आइसकेको भने पनि एमाओवादीले त्यसलाई इमानदारीपूर्ण तरिकाले आत्मसात गर्न सकेको छैन। यसर्थ जनताको अभिमतको सम्मान गर्न तथा आफ्ना कमी कमजारीको आत्मसमीक्षा गर्ने अवसर सबै राजनीतिक पार्टीले प्राप्त गरेको मतको आधारमा गर्नुपर्ने हुन्छ। जनसमुदायको मनोभावना एमाओवादीले मात्र होइन सबै राजनीतिक पार्टी र त्यसका नेताले आत्मसमीक्षा गर्नुपर्ने हुन्छ। एमाओवादीलाई सबैले दबाब दिनुपर्ने हुन्छ जनताको अभिमतको सम्मान गर।'
विकास गुरागाईं, प्रशिक्षार्थी
|